काठमाडौं । नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम रहने राख्नुपर्ने सुझाव पेश गरिएको छ ।
आज शनिबार शुरु भएको केन्द्रीय कमिटीको बैठकमा उमेर हद कायम राख्नुपर्ने सुझाव आएको हो । यही असोज १५–१७ सम्म काठमाडौँमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको मस्यौदामाथि केन्द्रीय कमिटीमा भएको छलफलमा महाधिवेशनले उमेर हदबारे निर्णय नगरे यसअघिकै व्यवस्था अनुसार उमेर हद कायम रहने भएको हो ।
उमेर हदले हाल एमालेको शीर्ष तहमा रहेका धेरै नेतालाई पार्टीको ११ औँ महाधिवेशनपछि कार्यकारी पदमा रहन प्रतिबन्ध लगाउने छ । एमालेको विधानमा ७० वर्षमाथि उमेरका नेता कार्यकारी पदमा बस्न नपाइने व्यवस्था छ ।
उपमहासचिब विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि सुझाव दिएका १० वटै समूहका नेताहरुले उमेर हद कायम राख्ने सुझाब दिएको पार्टी सचिब तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शनिबार शुरु भएको बैठक शनिबार सकिने भनिए पनि बैठकमा प्रस्तुत तीनवटा प्रस्तावमा १० वटै समूहबाट व्यापक परिवर्तनको सुझाब आएपछि आइतबार पनि बैठक बस्ने भएको छ ।
शनिबारको बैठकमा उमेर हद कायम राख्ने, पदाधिकारी बढाउने, कार्यकारी पदमा दुईपटकभन्दा धेरै बस्न नपाइने लगायतका सुझाब आएको भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रादेशिक संरचनामा देश भएकाले सोही अनुसार पदाधिकारी पनि राख्नुपर्छ भन्ने सुझाब आएको छ ।’
आइतबार अध्यक्ष केपी शर्मा ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिइने भट्टराईले जानकारी दिए ।