• मंसिर १२ २०८१, बुधबार

जलवायु परिवर्तनको उच्च जोखिम रहेको नेपाललाई हुने हानी नोक्सानीको अन्तर्राष्ट्रियरुपमा सम्बोधन हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

आश्विन ९ २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यहीरुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले जलविद्युत्, वनक्षेत्रलगायतका अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पारे । उनले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनको उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रियरुपमा सम्बोधन हुनुपर्ने उल्लेख गरे ।