काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन आगामी फागुनमा हुने भएको छ । तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा बसेको केन्द्रीय समितिको बैठकले जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको जिल्ला सहइन्चार्ज निरु थापाले जानकारी दिइन् ।
बैठकले कार्तिकसम्म जनवर्गीय सङ्गठनको राष्ट्रिय सम्मेलन गर्नेसमेत निर्णय गरेको छ । ‘‘फागुनमा जनयुद्ध शुरु गरेको भएकोले महाधिवेशन गर्ने निर्णय भएको छ तर गते तोकिएको छैन’’ थापाले भनिन् ।उनका अनुसार मङ्सिर ८ गते पार्टी स्थापना दिवसको अवसरमा पार्टी पुर्नगठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
भ्रष्ट्राचारका विरुद्ध भण्डाफोरको लागि सडकमा प्रर्दशन गर्ने, स्वास्थ्य सामग्री खरीदका समयमा बाहिर आएका अनिमितता घटना प्रति पनि पार्टीको गम्भीर ध्यानाकार्षण भएको उनले बताइन।
प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समितिको बैठक तथा पाँच दिने प्रशिक्षणका क्रममा सो निर्णय भएको सो पार्टीले जनाएको छ । असोज १ गते देखि शुरु भएको बन्द प्रशिक्षण मङ्गबार राति सकिएको थियो । कार्यक्रममा केन्द्रीय समितिका ७६ सदस्य सहभागी थिए ।