संविधान दिवसको चर्चाभन्दा पनि संविधान दिवसको अवसरमा प्रदान गरिएको मानपदवी, पदक र अलंकारको निकै चर्चा भयो । हुन पनि संविधानले व्यक्तिको प्रत्यक्ष रुपमा मान बढाएको देखिन्न । तर पदवी र अलङ्कारले व्यक्तिको मान बढाउँछ, शान बढाउँछ र स्फूर्ति पनि ल्याउँछ । समाज देखासिकीको हो । कर्म र धर्म सोध्ने कुरा होइन । विभूषण आखिर विभीषणलाई नै प्रदान गरिन्छ ।
विभीषण स्वयम् ‘ध्वंश’ र ‘रुपान्तरण’ का प्रतिक पनि हुन् । विभीषण स्वयम् विभूषित हुनयोग्य मानिन्छन् पनि । संसारमा हुँदै आएको छ पनि यही नै । यस पटकको मानपदवी पाउनेहरुमा धेरै यस्ता मानिस परे, जसका कारण पदवी वितरण केही नकारात्मक चर्चाको विषय बन्न पुग्यो । हेर्दा व्यक्तिगत रुपमा आलोचना गरे झैं देखिने तर अन्तर्यमा धेरैलाई स्वीकार्य नभएको पनि अनुभूत भयो ।
सबै त्यसो त होइनन् । तर पनि सिंगो बोराको आलुलाई एकदुईवटा कुहिएका आलुले सडाइदिन्छन् । अकर्म गर्ने र कालोसूचीमा पर्नेलाई धेरैले राम्रो पनि मान्दैनन् । यस पटकको मानपदवी सीमा मिचेर यहाँसम्म पनि पुग्यो । राम्रा धेरै हराए, हाम्रा धेरै उदाए ।
मानपदवी वास्तवमा देशको शीर उचो पार्ने व्यक्तिहरुको सम्मानका लागि हो । यो भनेको देश र जनताका लागि दिएको योगदानको उचित कदर पनि हो । राज्यसत्ताले दिएको तक्मा सगरमाथाको माथ उजिल्याउनका लागि हो ।
मानपदवी र पदकले छुन नहुने ठाउँ पनि छोएको छ । प्रभाव पार्ने काम पनि गरिरहेको छ । कतिपयका लागि त चोख्याउने ‘सुनपानी’ साबित हुन पुगेको छ । शायद पदवी वितरणको यो प्रक्रिया पार्टी भागबण्डाका आधारमा गरियो होला भनी ठोकुवा गर्न मिल्ने ठाउँ प्रशस्त छ ।
मानपदवीले आउँदा चुनावहरुमा भोट तान्ने नियतलाई बोकेर हिँड्न हुँदैन । जसले जनताका लागि काम नै गरेनन्, केही त्यस्ता व्यक्तिलााई ‘जनसेवाश्री’ पदकसम्म प्रदान गरिएको छ । एकातिर उनीहरुकै कारण जनताले दुःख पाइरहेका छन्, अर्कोतिर जनसेवाश्री पदक उनीहरुलाई नै थमाइएको छ । पहुँच, प्रभाव र सहयोगलाई मापदण्ड बनाइरहने हो भने पदक विभीषणकै पोल्टामा पर्ने परिपाटी हट्ने देखिदैन ।
पदकले पदकधारकलाई गिज्याउने वातावरणको अन्त्य हुनु पर्छ । पदक देश र जनताको सम्मान बन्नुपर्छ । देश र जनताले पदक र पदकधारकलाई मान र शानको आँखाले हेर्न सक्ने वातावरण बन्नु पर्छ ।