• फाल्गुन २८ २०८२, बिहीबार

रत्नपार्कमा बसेर बाँडेजस्तो ह्वारह्वार पदक वितरण गरियो : ओली

आश्विन ५ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सरकारले पदक वितरण गर्न सार्वजनिक गरेको सूचीप्रति व्यंग्य गरेका छन् । मंगलबार रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दूल’ नामको पुस्तक सार्वजनिक कार्यक्रममा उनले रत्नपार्कमा बसेर बाँडेजस्तो ह्वारह्वार पदक वितरण गरिएको बताए।

‘हामीलाई कुनै टाउको दुखेको होइन, तर यति धेरै पदकहरु त कहिल्यै वितरण भएको थिएन । रत्नपार्कमा बसेर वितरण गरे जस्तो छ क्या, ह्वार ह्वारी ‘उनले भने ।

ओलीले पदक वितरण गरेर सबैतिर ढ्याकढ्याक्ती ढोका थुनिएको बताए। ‘कतैबाट आवाज नआओस्। कतैबाट विरोधको स्वर नआओस्। कतैबाट उज्यालो नछिरोस्। सबै कुरा अन्धकार अन्धकारमा चलाउने। विरोधी नै रहेनन्,’ उनले भने, ‘हामीलाई कुनै टाउको दुखेको होइन। यति धेरै पदकहरु त कहिले पनि बाँडिएको थिएन होला।’

उनले आफू प्रधानमन्त्री भएको बेलामा यसरी पदक वितरण गरिएको भए बुद्धिजीवीहरु, नागरिक समाजले के भन्थ्यो भन्दै अहिले भने सबै मौन बसेको आरोप लगाए।