दाङ । कम्युनिस्ट सिद्धान्त अपनाएकाहरुले परम्परागत मानवीय संस्कारमा परिवर्तन ल्याउन प्रयत्न गर्दछन् । परम्परागत संस्कारमा रहेका कतिपय अवैज्ञानिक र रुढ मान्यताहरुलाई त्याग्दै वैज्ञानिक र मानवीय बनाउने प्रयासमा उनीहरु रहेका छन् । यसैबीच नेपाली समाजमा गरिँदै आएका विहे प्रणालीमा परिवर्तन ल्याउन पनि उनीहरुले कोसिस गरिहेका छन् ।
यसलाई परिभाषित गर्नेक्रममा उनीहरुले अन्तरजातीय (प्रगतिवादी) र सजातीयगरी २ किसिममा बाँडेका छन् । पुरानो समाजको परिभाषा अनुसार विभाजन गरिएको जात प्रथा अनुसार ठूलो जात र सानो जातका केटाकेटीबीच हुने विहेलाई प्रगतिशील भन्ने गरिँदै आएको छ भने एउटै तहका जातका केटाकेटीका बीचमा भएको विहेलाई प्रगतिशील विहे भन्ने गरिन्छ । यो सामान्यतया संस्कारको कुरा हो तर यसमा जोडिएको आर्थिक पक्षपनि कम महत्वको छैन ।
अर्थतन्त्रका हिसावले कम भन्दा कम खर्चमा र कुनैपनि पण्डितले गर्ने संस्कार नभई कम्युनिस्टहरुले अपनाउने विधि अपनाएर गरिने विहेलाई नै प्रगतिशील विहे भनिन्छ । यसरी गरिने विहेमा धनदौलत र गहनागुरिया प्रदर्शनको आवश्यकता पर्दैन । सामान्य खर्चमा नै यो प्रकारको विहे सम्पन्न गरिन्छ । आएका आफन्तहरुलाई खानपिन गराउने र रमाइलो गर्ने त मानवीयता नै भइहाल्यो ।
यसरी गरिने विहे प्रणालीलाई जनवादी विहे प्रणाली पनि भन्ने गरिन्छ । यसैबीच दाङमा पनि एकजोडीले प्रगतिशील विहे गरेका छन् । जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्तप्रकाश वली र कोपिला बञ्जाडेबीच प्रगतिशील विहे भएको छ । कोपिला नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेकि छोरी हुन् भने हेमन्त विप्लव नेकपाका नेता लोकबहादुर वली ‘विकास’का छोरा हुन् ।
विवाह कार्यक्रममा दुलाहाका बुवा विकास, नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी प्रदिप, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य समिर, नेकपा दाङ जिल्ला विशेष ससमिति सदस्य सम्झना र विक्रम एवम नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य हिरामणी दुखीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले प्रगतिशील विवाहले सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रगतिशील विवाहले सांस्कृतिक, सामाजिक रुपान्तरण साथै समाजमा विवाह गर्ने बुर्जुवा, अवैज्ञानिक र ठूलो धनराशी खर्चेर गर्ने शैलीका विरुद्ध लडाइ समेत जित्न सफल भएको वक्ताहरुको भनाई थियो ।
नेकपा (क्रान्तिकारी माओवादी) दाङका सचिवालय सदस्य इश्वरी गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सोही पार्टीका सचिवालय सदस्य मधुसुधन बैद्यले गरेका थिए भने नवविवाहित जोडिलाई नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य विक्रमले बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी तथा दुलहीका बुवा नरेन्द्र बन्जाडेले गरेका थिए ।