• असार १६ २०८१, शनिबार

यी हुन् संसारमै सबैभन्दा बढी बाँच्ने जुम्ल्याहा

आश्विन ५ २०७८, मंगलवार

काठमाडौँ । संसारमा हरेक दिन फरक फरक रेकर्ड कायम भएका हुन्छन् । संसारको रेकर्ड राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्डमा हालै एउटा अर्को रोचक कहानी रेकर्ड भएको छ । यस क्रममा जापानका जुम्ल्याहा दिदीबहिनीहरुलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले संसारकै सबैभन्दा बढी बाँच्ने जुम्ल्याहाको रुपमा प्रमाणपत्र प्रदान गरेको छ ।

जापानकी जुम्ल्याहा दिदीबहिनीहरु उमेनो सुमियामा र कोउमी कोदामले यस्तो रेकर्ड बनाएका हुन् । ती जुम्ल्याहा दिदीबहिनीहरु अंग्रेजी मिति अनुसार २०२१ सेप्टेम्बर १ अर्थात वि.स.२०७८ भदौ १६ गते बुधबारका दिन १०७ वर्ष ३ सय दिन पुगेको अवसर पारेर उनीहरुलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले यस्तो प्रमाणित गरेको हो ।

सबैभन्दा बढी बाँच्ने जुम्ल्याहा दिदीबहिनी उमेनो सुमियामा र कोउमी कोदाम आफ्नो प्रमाणपत्रको साथमा

जुम्ल्याहा दिदीबहिनीहरु उमेनो सुमियामा र कोउमी कोदामले यस्तो रेकर्ड बनाउँदा यसअघि रेकर्डमा रहेका जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको रेकर्ड तोडेका हुन् । जापानी संसारमा निकै मिलनसार व्यक्तिका रुपमा परिचित ति जुम्ल्याहा दिदीबहिनी अंग्रेजी मिति अनुसार १९१३ नोभेम्बर ५ अर्थात् वि.स.१९७१ साल कात्तिक १९ गते जापानको सोदोसिमा टापुमा जन्मिएको बीबीसी लगायतका विभिन्न समाचार माध्यमले बताएका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने दिनको सुअवसर पारेर उनीहरुलाई यस्तो प्रमाणपत्र प्रदान गरेर सोमबार सो घोषणा गरेको हो । कोरोना भाइरसको महामारीका कारण जन्मघरबाट विवाह गरेर फरक फरक स्थानमा रहेका उनीहरुलाई घरमै सो प्रमाणपत्र पठाइएको थियो ।

ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने त्यसदिन जापानमा राष्ट्रिय बिदा दिने चलन रहेको छ । यसअघि सो रेकर्डमा रहेका जापानकै किन र जीन १०७ वर्ष १ सय ७५ दिन बाँचेर रेकर्ड कायम गरेका थिए । किनको मृत्यु अंग्रेजी मिति अनुसार सन् २००० को जनवरीमा भएको थियो भने उनको मृत्युको एकवर्षपछि १०८ वर्षको उमेरमा जीनको मृत्यु भएको थियो । जापानी भाषामा ती जुम्ल्याहा नाम किन र जीनको अर्थ सुन र चाँदी भन्ने हुन्छ ।

हाल रेकर्डमा रहेका उमेनो र कोउमीका तीन सन्तान रहेका छन् । जापान संसारमा उच्च औसत आयु भएको देशको रुपमा परिचित छ । त्यो देशमा अरु देशहरुमा भन्दा ज्येष्ठ नागरिकहरुलाई धेरै सम्मान गर्ने विश्वास गरिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डले बताए अनुसार अहिले जीवित रहेका जेष्ठ नागरिक पनि ११८ वर्षीय महिला कानी तानका जापानकी नै रहेकी छिन् ।