• फाल्गुन २८ २०८२, बिहीबार

पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढ्यो : प्रचण्ड

आश्विन ४ २०७८, सोमबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन्।

सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताए। उनले नेकपा माओवादी केन्द्र पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताए। समाजको विकास र न्यायको निम्ति पनि पार्टी र स्वयंलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आत्मसमर्पण गरेको टिपणी गरे । एमालेको कुनै सिद्धान्त नरहेको भन्दै उनले मदन भण्डारी र लोगो भएकै भरमा आफूलाई एमाले भनिरहेको बताए।

कार्यक्रममा अध्यक्ष दाहालले थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गरे। उनले माओवादी केन्द्रले मात्रै साचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने दाबी गरे।

‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन’, उनले भने, ‘जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो, तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ’ ।