काठमाडौं । सरकारले आज संविधान दिवसको अवसरमा प्रदान गरेको पदकहरुबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
यसैबीच, नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले केपी ओली सरकार हटाउन परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू पदकबाट विभुषित हुनुले गम्भीर आशंका पैदा गरेको बताएको छ ।
संविधान दिवसका अवसरमा एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न पदक दिएको हो भने त्यो बेठीक भएको बताए ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले न्यायाधीशहरुलाई दिएको विभुषण फिर्ता गर्न आग्रह गरेका छन् । उनले तत्कालीन केपी ओली नेतृत्वको सरकारविरुद्ध मुद्धा हाल्ने न्यायाधीशलाई नै विभुषण दिइएको जिकिर गरे।
उनले भने,‘ मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानुन व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । सरकारले दिएको पदक फिर्ता गर्न आग्रह गर्छु । ’ उनले न्यायाधीशहरुले दिइएको मेडल अस्वीकारको घोषणा गर्नुपर्ने बताए ।
सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाउज्ज्वल राष्ट्रदीप, न्यायाधीश विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीलाई उज्ज्वल प्रबल जनसेवाश्री विभुषण दिने घोषणा गरेको हो।