काठमाडौं । माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनीमा प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न सो पार्टीको भेलाले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी गठन गरेको हो ।
रुपन्देहीका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए अनुसार हाललाई १ सय ५१ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ । यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन् । गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।
भेलालाई सम्वोधन गर्दै नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा विद्रोह सुरु भएको र अहिले सलाईको एउटा काँटी मात्रै सल्किएको तर भोलीका दिनमा विद्रोहको ज्वाला दन्कँदै केपी ओली नेतृत्वको एमाले धरासायी हुने दावी गरिन् ।
कार्यक्रममा नेताहरू विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र राजु गुरुङ लगायतले बोलेका थिए ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये गुल्मी सो पार्टीको कमजोर जिल्ला देखिएको थियो ।
तर हिजो केपी ओली समूहबाटै विद्रोह गरेर आएका तत्कालिन युवा संघका केन्द्रिय सदस्य हिमाल थापा इन्चार्ज र रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महत अध्यक्ष रहने गरि गुल्मी जिल्ला कमिटी गठन गरिएको छ । गुल्मी कै गणेश खनाल प्रदेश कमिटी सदस्यमा चयन भएका छन् ।