कास्की । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालगसहितका नेताहरु एमालेमै फर्कने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले पार्टी विभाजन गरेर जाने सबै नेताहरू फेरि एमालेमै फर्किने दबी गरे। । उनले भने, ‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होम सिक जस्तै एमाले सिक हुन्छ । उहाँ यतै आउनुहुन्छ ।’
भट्टराईले एकीकृत समाजवादीमा गएकाहरूलाई एमालेमै फर्किनुबाहेकको विकल्प नरहेको बताउँदै विभाजनको असफल प्रयत्नतिर नजान अपिल गरे। अहिलेको फुटले कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक त्यसले अरू कुनै फाइदा नदिने बताउँदै सचिव भट्टराईले पार्टी फुट्न हुन्न भन्ने पक्षधरका नेताका कारण एमालेमा पाँच प्रतिशत मात्रै क्षति भएको दाबी गरे।
अर्को प्रसङ्गमा बोल्दै सचिव भट्टराईले कांग्रेसले देशलाई विकल्प दिन नसक्ने भन्दै एमालेले बहुमत ल्याउने दाबी गरे । ‘आगामी चुनावमा पनि कांग्रेसले बहुमत ल्याउन सक्दैन। किनकी उसले कुनै विकल्प दिन सक्दैन,’ उनले भने , ‘बहुमत ल्याउन सक्ने तागत एमालेसँग छ । राजनीतिक स्थायित्व र विकासका लागि एमालेको बहुमत अनिवार्य छ।’