काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा शुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा शुरु भएको हो। बन्दीपुरमा आयोजित सो बैठक असोज ५ गतेसम्म चल्ने छ ।
बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर पुगेका थिए । बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् ।
बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।