• मंसिर १२ २०८१, बुधबार

अब कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानु पर्छ : परिवार दल

आश्विन १ २०७८, शुक्रबार

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकीय स्वरुप परिर्वतन गर्नका लागि संविधान संशोधन गर्नु पर्नेमा जोड दिएको छ ।

परिवार दल निकट युवाहरुको संगठन पीस फोर्सले आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा बोल्दै सो दलका अध्यक्ष एकनाथ ढकालले जनताले दुई तिहाई मत दिँदा पनि देशले स्थिर सरकार पाउन नसकेको बताए ।

उनले यसो हुनमा मुलुकको शासकीय स्वरुप रहेको उल्लेख गर्दै यसलाई संविधान संशोधन गर्नु पर्ने बताए । उनले अब देशलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यस्थामा लैजानुपर्नेमा जोड दिए ।

नेता ढकालले युवाशक्तिलाई सहीरूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ । ढकालले भने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’

उनले युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए । ढकालले नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता निर्बिकल्प रहेको बताउँदै अब देशका बहुमत जनतालाई परिवार दलसँग जोड्न विशेष कार्यक्रम तर्जुमा गर्ने बताए ।

ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुई पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुझारू र जिम्मेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने धारणा राखे । दलका प्रवक्ता सन्तोषकुमार पौडेलले आजका युवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए ।

पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने, नैतिकवान र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए । दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेतीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसँग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।

यसैबीच नेकपा एमालेको भातृ राष्ट्रिय युवा संघका जिल्ला स्तरिय नेता परिवार दलमा प्रवेस गरेका छन् । उनीहरुलाई दलका अध्यक्ष एकनाथ ढकालले खादा तथा पार्टीको सदस्यता प्रदान गदै पार्टी प्रवेस गराए ।

यसरी प्रवेस गर्नेहरुमा राष्ट्रिय युवा संघका रामेछापका जिल्ला सदस्य बासुदेव घिमिरे जिल्ला सदस्य विष्णु घिमिरे काभ्रे जिल्ला सदस्य सुसिल सैंजु, यस्तै एमाले रामेछाप सुनापति काठमाडौं सम्र्पक समितिका सचिव रामकुमार मैनाली, त्यस्तै अन्य पार्टीहरुबाट रोषण श्रेष्ठ, बिरज खनाल गोरखा, विजय लामा भक्तपुर, सुदिप घिमिरे, आशिष दाहाल लगायतका युवाहरु परिवार दलमा प्रवेस गरेका छन् ।

पीस फोर्सका अध्यक्ष रबिन्द्र चौलागाईंको सभापतित्वमा भएको कार्यक्रममा प्रवेसी रामकुमार मैनालीले ठूला राजनीतिक दलका भातृसंगठन अर्धसैनिक बल बनाएको बताउँदै आफू परिवार दलको सदस्य बन्न पाएकोमा खुशी ब्यक्त गर्दै शान्तिको माध्यमबाट युवाहरुलाई परिर्वतनको बाटोमा ल्याउन पीस फोर्समा आवद्ध भएको बताए ।