• मंसिर १२ २०८१, बुधबार

भोलिदेखि सुपथ मूल्य पसल सञ्चालनमा

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौं । असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ।

सरकारले चाडबाडको अवसरमा आमउपभोक्तालाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो ।

यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गरेको छ। सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।

सरकारले कायम गरेको मूल्य दरअनुसार चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छुट गरिएको छ। त्यस्तै, भटमासको तेल, मासु र कर्णालीकाे सिमीमा १० रुपैयाँ छुट गरिएको छ। उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी, सल्लाघारीलगायतका स्थानबाट सुपथ मूल्यमा खाद्य वस्तुको बिक्री–वितरण गरिनेछ।

उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री–वितरण हुने बताइएको छ ।

यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले पनि विभिन्न ठाउँमा सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्दै आएका छन् ।