काठमाडौँ। नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव कुमार नेपाललाई एमालेमा फर्कन आग्रह गरेकी छन्।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपालले लिएको बाटो सही नभएको भन्दै समीक्षा गरेर ‘सुदृढ एमाले बनाउने अभियान’मा आउन आग्रह गरिन्।
‘माधव नेपालले लिएको बाटो सही छैन। किन भनि रहेको छु भने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ। सुदृढ एमालेको आवश्यकता थियो,’‘आज आफूले त्याग गरेको, समर्पण गरेको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भनेको कुरा सही कुरा हुँदैन। म अनुरोध गर्न चाहन्छु फेरि समीक्षा गर्नुस्, फर्केर आउनुस्, एमालेलाई सुदृढ एमाले बनाउन तपाईंको आवश्यकता छ।’ उनले भनिन्,
उनले बलियो एमाले बनाउन पूर्वाग्राह मनमुटाव बिना सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनै पर्ने बताइन्।
‘अब छाती फराकिलो बनाएर अघि बढाउनुपर्छ। अपानि १२ अक्षस: पालना गरेर अघि बढ्नुपर्छ,’ उनले भनिन्,‘विचार शुन्य भएपछि जन्माउने गुटबन्दी हो। त्यसले एमालेलाई बलियो होइन कमजोर बनाउँछ अब त्यसलाई छोडनुपर्छ।’
विगतको कमीकमजोरी ढाकछोप गरेर नहुने भन्दै त्यसको गम्भीर र निर्मम रुपमा समीक्षा हुनुपर्ने शाक्यको भनाइ छ। कमीकमजोरीको समीक्षा नगरे थप समस्या आउने पनि उनले बताइन्।