• मंसिर १० २०८१, सोमबार

भारतबाट ल्याइएको विद्युतको भाउ बढ्यो

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार प्राधिकरणले गत आवमा भारतबाट १ किलोवाट आवर विद्युत ७ रुपैयाँ ९५ पैसामा खरीद गरेको छ । जुन अघिल्लो आव २०७६÷७७ को भन्दा १९ पैसाले बढी हो । अघिल्लो आवमा प्राधिकरणले भारतबाट १ किलोवाट आवर विद्युत औसतमा ७ रुपैयाँ ७६ पैसामा खरीद गरेको थियो
भारतीय विद्युत महँगोमा खरीद गरेको अवस्थामा स्वदेशी निजीक्षेत्रको विद्युतको खरीद दर भने घटेको छ ।

गत आवमा निजीक्षेत्रबाट खरीद गरिने विद्युतको औसत दर १९ दशमलव २६ प्रतिशतले घटेको छ । गत आवमा निजीक्षेत्रबाट १ किलोवाट आवर विद्युुत ५ रुपैयाँ ८६ पैसामा खरीद भएको छ । अघिल्लो आवमा भने ७ रुपैयाँ २५ प्रैसामा विद्युत खरीद भएको थियो ।

यस्तै, गत आवमा भारतबाट हुने विद्युतको आयात पनि ह्वात्तै बढेको देखिन्छ । गत आवमा भारतीय विद्युतको आयात ६३ दशमलव ४५ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार गत आवमा २ हजार ८२६ गिगावाट आवर विद्युत आयात भएको छ, जुन अघिल्लो आवको भन्दा बढी हो । अघिल्लो आवमा १ हजार ७२९ गिगावाट विद्युत आयात भएको छ ।

पछिल्लो समय नेपालमा विद्युतको उत्पादन बढ्दै गएको छ । तर, अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित हुँदा हिउँदमा उत्पादन घट्ने गर्छ । त्यो समयमा विद्युत माग पूरा गर्न भारतबाट आयात गरिँदै आइएको छ । वर्षात्को समयमा भने विद्युत निर्यात पनि हुँदै आएको छ ।

गत आवमा नेपालमा ८ हजार ८७७ गिगावाट आवर विद्युत खपत भएको छ । जुन अघिल्लो आवको तुलनामा १४ दशमलव ६८ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा ७ हजार ७४१ गिगावाट आवर विद्युत खपत भएको थियो ।

गत आवमा निजीक्षेत्रबाट ३ हजार २४१ गिगावाट आवर विद्युत आपूर्ति भएको छ । त्यो बाहेकका विद्युत भने प्राधिकरणका आयोजनाहरूबाट नै आपूर्ति भएका बताइएको छ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।