काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रका विद्यालय दशैंपछि मात्र खोल्ने प्रस्ताव गरेको छ ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र अभिभावक महासंघ सहितको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उक्त प्रस्ताव गरेका हुन् ।
दशैं आउन धेरै दिन बाँकी नरहेकोले अहिलेदेखि विद्यालय खोल्न सक्ने वातावरण निर्माण गर्ने र दशैँ लगत्तै विद्यालय खोल्न प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेको सीसीएमसीका प्रमुख बालानन्द शर्माले बताए ।
स्मार्ट लकडाउन कार्यविधि अनुसार विद्यालय खोल्ने किन नखोल्ने भन्ने विषयको निर्णय गर्ने अधिकार स्थानीय तहलाई भएकाले काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रमुख, मेयर तथा उपमेयरहरुले छलफल गरेर निर्णय गर्ने उनले बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयमा बिहीबार बैठक बोलाइएको छ ।