काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
बुधबार स्व. नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरे ।
उनले भने ‘शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँचरसात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन संकल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ ।’
उनले विगत १५ वर्षमा पार्टीबाट सय जना मन्त्री बनेको र त्यसतिर बढी ध्यान गएको भन्दै अब पार्टी निर्माणमा ध्यान केन्द्रीत गर्ने बेला भएको बताए ।
देशलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेको उनको भनाइ छ ।