• फाल्गुन २८ २०८२, बिहीबार

पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन

भाद्र २९ २०७८, मंगलवार

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन परेको छ ।

लुम्बिनी प्रदेशकै सांसद विमला खत्री वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै उनिहरु विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएकी हुन् ।

निवेदनमा तत्कालीन मुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, तत्कालीन मुख्यमन्त्रीको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कानुनअनुसार कारबाहीको माग गरिएको छ ।

पोखरेल मुख्यमन्त्री भएका बेला साउन १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएको आरोपसहित सांसद वलीले निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले निवेदन दिएको पुष्टि गर्दै बुटवलको साटो घटनास्थल दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीको अपहरण तथा शरीर बन्धकविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरलाई सोमबार किटानी निवेदन बुझाएको बताए ।

नेपालको कानुनमा अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन सक्ने व्यवस्था गरिएको छ । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।