• फाल्गुन २८ २०८२, बिहीबार

भर्खरै मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यको पद धरापमा

भाद्र २९ २०७८, मंगलवार

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद धरापमा परेको छ ।

भर्खरै  मात्र मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्य प्रदेश १ का नेकपा (एकीकृत समाजवादी)का १० जना प्रदेश सांसदहरुले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई विश्वास नरहेको निवेदन प्रदेश सभा सचिवालयमा दर्ता गराएसँगै मुख्यमन्त्रीको पद धरापमा परेको हो ।

सो पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गरेकी हुन् । दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजको मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ । प्रदेशसभाका सचिव पराजुलीले एकीकृत समाजवादीको समर्थन फिर्ता पत्रका सम्बन्धमा प्रदेश प्रमुखको कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराइएको बताए ।

नेकपा एमालेका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले भने नेकपा एस बारे सर्वोच्च अदालतमा मुद्दा परेको र पार्टी रहने नरहने बारे टुङ्गो नलागेकोले प्रदेश सभा सचिवालयमा दर्ता गराएको पत्रको औचित्य नभएको बताए । उनले अदालतको फैसलापछि मात्र प्रदेश सरकारले विश्वासको मत लिने वा राजीनामा दिने सम्बन्धमा पार्टीले आधिकारिक निर्णय लिने जानकारी दिए ।

यसअघि आजै एकीकृत समाजवादीको प्रदेश नं १ संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरिएको थियो । प्रदेश १ को ९२ सदस्यीय प्रदेश सभामा ५१ जना नेकपा एमालेका सांसदहरु रहेकोमा नेकपा एसमा १० जना सांसदहरु प्रवेश गरेका छन् । प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक पर्दछ ।

बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीमप्रसाद आचार्य अल्पमतमा परिसकेकोले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ ।