काठमाडौं । भोकमरी र गरिबीको चपेटा परेको अफगानिस्तानलाई विभिन्न मुलुक र दातृ निकायले १ अर्ब डलर बढी सहयोग गर्ने बाचा गरेका छन् । संयुक्त राष्ट्रसंघले गरेको दाता सम्मेलनमा विभिन्न देश र अन्तराष्ट्रिय संघ संस्थाले एक अर्ब १ बढी डलर सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सोमबार जेनेभामा भएको सम्मेलनको सुरूमा बोल्दै राष्ट्रसंघका महासचिव एन्टोनिओ गुतर्रेसले दशकौंको युद्ध, पीडा र असुरक्षा भोगेका अफगानहरूले अहिले सबैभन्दा कठिन समय बिताइरहेको र अहिले उनीहरूलाई लाइफलाइनको आवश्यकता भएको बताएका थिए ।
‘आर्थिक प्रणाली अहिले निकै सीमित भएको छ यसको अर्थ एकदमै आधारभूत आर्थिक क्रियाकलाप हुन सकेका छैनन्,’ गुतर्रेसले भने । विश्व खाद्य कार्यक्रमले अफगानिस्तानमा सेप्टेम्बर अन्त्यसम्म आफूले सञ्चित गरेको खाद्यान्न सकिने र झन्डै १ करोड ४० अफगानले दुई छाक खान नपाउने अवस्था आउन सक्ने चेतावनी दिएको छ ।
२० वर्षसम्म तालिबानविरूद्ध युद्ध लडेको अमेरिकाले मानवीय सहायताका लागि अफगानिस्तानलाई ६ करोड ४० लाख डलर दिने वाचा गरेको छ । फ्रान्सले ११ करोड ८० लाख डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । अफगानिस्तानका छिमेकी चीन र पाकिस्तानले यसअघि नै सहयोग गर्ने बताइसकेका छन् ।
गत बुधबार अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीच भर्चुअल छलफल भएको थियो । सो छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई ३ करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नसमेतको सहयोग गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । विदेश मन्त्री वाङले अफगानिस्तानलाई कोरोना महामारीविरूद्ध लड्न अरू स्वास्थ्य सामग्रीसहित ३० लाख डोज भ्याक्सिन पनि दिने बताएका छन् ।
अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तान, तुर्कमेनिस्तान र चीनका विदेश मन्त्रीबीचको छलफल पाकिस्तानले आयोजना गरेको थियो । पाकिस्तानले अफगानिस्तानमा सैनिक जहाजमार्फत खाद्यान्न सामग्री पठाउन सुरू गरिसकेको छ ।