• असार १६ २०८१, शनिबार

धैर्यताले टिकेकी, मेहनतले हुर्केकी खबिसराको जीवन कथा

भाद्र २८ २०७८, सोमबार

बुटवल । रुपन्देहीको गैंडहवाकी खबिसरा एक संघर्षशिल महिला हुन् । उनी उमेरले ३० वर्ष पुगिन् । उनका एक छोरी र छोरा छन् । उनका श्रीमानको ७ वर्ष अगाडी वि.सं २०७१ सालमा मृत्यु भइसकेको छ । त्यस समयदेखि उनी जीवनको सहारा भनिएका श्रीमान बिहीन एकल महिलाको रुपमा छिन् । तर एकल महिला भएपनि उनले हिम्मत हारेकी छैनिन् ।

श्रीमानको मृत्यु हुँदैमा मेरो कोखबाट जन्मेका दुई छोरा र छोरीलाई सहारा बिहीन बनाउनु हुँदैन भन्ने उनको बुझाई रहेको छ र दुई सन्तानको पालन पोषण सँगसँगै आफै पनि बिस्तारै तंग्रिदै गएकी छिन् । अर्थात् श्रीमान नहुनुको पीडा विस्तारै कम हुँदै गएको छ । समयक्रममा श्रीमान छँदै संचालन गरेको दिक्षा किराना पसल तथा खाजा घरलाई विस्तारै उकास्दै गइन् । हुन त श्रीमान हुँदा पनि श्रीमानले हरेक दिन दुःख दिनु हुन्थ्यो रे खबिसरालाई ! इण्डियाबाट आउनु भयो भने गाउँलेका कुरा सुनेर अनेक लाञ्छना लगाएर रात दिन पिट्नु हुन्थ्यो रे, उनी पीडा सुनाउँछिन् ।

जसले सहारा दिनु पर्ने हो, जन्म घर छोडेर सबथोक भनेर जोसँग विहे गएर आइयो उसैबाट पाउनुसम्म दुःख पाएपछि जीवनको खास अर्थ बटुल्न नपाएकी खबिसराले सकेसम्म श्रीमान छँदै श्रीमान र घर परिवारको विस्वास जित्ने प्रयत्न नगरेकी पनि होइनन् । तर श्रीमानको आफूप्रतिको अविस्वासलाई २० बाट १९ बनाउन नसकिरहेकै बेला श्रीमानले पूर्णरुपमा सहराबिहीन बनाएर सधैका लागि संसार छोड्नु भएको रहेछ ।

श्रीमानले सधैका लागि यो संसारबाट छोडेर गएपछि खबिसरालाई झन ठूला ठूला समस्याहरुले घेर्दै आए । श्रीमान छँदै खबिसराले निर्धन उत्थान बैंकबाट ६० हजार रुपैयाँ ऋण लिएर माइतीको जग्गामा सानो छाप्रो बनाइन र बचेको पैसाले खाजा तथा नास्ता पसल संचालन गरिन् । ‘त्यही पसल पनि श्रीमानले खै कस्को कुरा सुन्नु हुन्थ्यो साँझमा घर आएर एकाएक भडाङ्गभुडुङ्ग पार्दै फालेर दुःख दिनु हुन्थ्यो ।’ खबिसराले दुःखका कुरा सुनाइन् ।

श्रीमानको मृत्यु पछि भने गाउँलेले जे जस्ता कुरा काटेपनि उनलाई भने आंशिक राहत मिल्दै गएछ । आफन्तले लगाएको आरोपलाई गलत साबिवत गर्न यही समाजमै रहेर आफू हरेक कुरामा सक्षम बन्ने दृढता लिइन खबिसराले । आज उनले घर, घडेरीसँगै परिवार र आफन्तको माया र सद्भाव संगालेकी छिन् । हिजो श्रीमान बितेपछि घर परिवारले खोसेर लगेको घर छुट्टिएर पाएको अंश समेत फिर्ता पाएकी छिन् ।

खबिसराले श्रीमान नहुँदा र श्रीमान हुँदा समेत पाएको दुबै पीडाको भकारीका बिच दुई सन्तानको खुशीका लागि दिक्षा किराना पसल तथा खाजा घरलाई निरन्तर रुपमा संचालन गर्दै आएकी छिन् । अहिले उनले ६० हजार रुपैयाँबाट शुरु गरेको खाजाघरमा करिब करिब ७ लाख बराबरको सामान जोडेकी छिन् । त्यही ब्यवसाय संचालन गरेर दुबै छोरा छोरीलाई स्थानीय ब्राइट दिक्षा बोर्डिङ स्कूलमा पढाउँदै आएकी छिन् । छोरी दिक्षाले त यसपाली एसईई पनि उत्तिर्ण गरेर एचए पढ्ने तयारी गरेकी छिन् । आमा खबिसराले पनि छोरी दिक्षाको एचए पढ्ने इच्छालाई पुरा गर्न उस्तै कम्मर कसेर लागेकी छिन् ।

छोराले अहिले कक्षा ८ मा पढ्दै छन् । लकडाउनको बेलामा उतिसारो ब्यापार नभएपनि मेरा बावै भनेर कपाल समाउनु परेको छैन रे खबिसरालाई । उनको खाजा घरमा स्थानियसँगसँगै देश तथा विदेशका पर्यटकहरु खानका लागि आउने रहेछन लकडाउन पूर्व । लकडाउन पूर्व सबै खर्च कटाएर दैनिक ४ देखि ५ हजार रुपैयाँसम्म आम्दानी हुने रहेछ उनको । तर अहिले लकडाउनले अरुलाई जस्तै असर गरेको उनको ब्यपारमा पनि ।

रुपन्देही जिल्लाकै ठूलो गैंडहवातालको अवलोकन गर्न आउने पर्यटकहरुलाई कहिलै रित्तो हात नपठाएकी खबिसराको खाजा घरमा यति स्थानीय र नवलपरासी, पाल्पा, कपिलबस्तु लगायत जिल्लाहरुबाट गैंडहवातालको अवलोकन गर्न आउनेहरुको संख्या निकै कम भएको छ । जसले गर्दा उनको ब्यवसायमा प्रत्यक्ष असर पारेको छ ।

गैंडहवाको ताल हेर्न आउने प्राय पर्यटकहरुले सुन्दर ताल भएर पनि तालको उचित संरक्षण र ब्यवस्थापन नहुँदा यहाँको विकास नभएको गुनासो गरे पनि आफूले सुन्नु बाहेक कसैलाई केही भन्न नसकेको बताइन् । पसल संचालन गरपछि जस्तो सुकै ग्राहकहरुसँग पनि नरम र मिठो बोल्नु पर्छ तर आफन्तहरुले यही कुरालाई कारण बनाएर मेरो श्रीमानसँगको सम्बन्ध बिगारिदिएका रहेछन् उनको ।

उनले लुम्बिनी भ्रमणमा आएका भारत, श्रींलकन, अमेरिकन, चीन लगायतका पर्यटकहरुलाई गैंडहवातालको समेत अवलोकन गर्न आउँदा सो तालको माछाको परिकार बनाएर खुवाउँदा उनलाई ती पर्यटकहरुले खुशी भएर थप पैसा पनि दिएका रहेछन् । हरेक काममा आत्म विश्वास, निरन्तरता र लगनशिलता भएमा जुनसुकै कठिनाईहरु पनि सहजै पार हुने उनको भागाइ रहेछको छ ।

मलाई अप्ठ्यारो पर्दा आत्तिएर म जीवनको मोडबाट स्खलित भएको भए सायद म र मेरो सन्तानले अहिलेको खुशी देख्न पाउने थिएनन् खबिसराले अनुभव बताइन् । “भन्न त अरुले के के भने भने । तर म अरुले भनेको कुरालाई थनास्दै गएको भए जीवनको पाटो अर्कै हुन्थ्यो” । उज्यालो मुहार पहिल्याउँदै खबिसराले भनिन् । मेरो दुःख देखेर छिमेकी र माइतीले दोश्रो विहे गर्न सल्लाह दिएका थिए तर भाग्य यस्तै भएपछि दोश्रो विहे पछिको जीवनको कुनै ग्यारेण्टी नभएको र दोश्रो विहे गरेर गएपछि आफ्ना छोराछोरी दुःख पाउनेछन् भनेरै उनले दोश्रो विहे नगरेकी रहेछिन् ।

आज खबिसराको धैर्यतापूर्ण संघर्ष र निरन्तरको मेहनत पछि आफ्नो घर परिवारले लगाएको आरोपलाई मिथ्या सावित गरिदिएकी छिन् । अहिले खबिसरा आफ्नी आमा, बहिनी र दुई छोराछोरीको एक्लो अभिभावक बनेकी छिन् । घर परिवारसँग पनि राम्रै आउजाउ भएको छ । किराना पसल तथा खाजा घर संचालन गरेर जीविकोपार्जन मात्र नभएर आत्मनिर्भर महिलाको रुपमा स्थापित हुन सफल भएकी छिन उनी । अहिले पनि उनको खाजा घरमा ४ देखि ६ किलो माछा, ३-४ किलो लोकल कुखुरा, हांँसको मासु बिक्री हुने गरेकाले ब्यवसायमा केही सुधार हुँदै आएको खसिराले बताइन् ।

आफन्त र केही ब्यक्तिहरुको अनेक लाञ्छनाहरुका बिचबाट खारिएर खबिसरा बनेकी खबिसरालाई खास जीवन के रहेछ त भनेर सोध्दा उनले भनिन् “हतास नहुनु, लगनशिल र धैर्यता पूर्वक निरन्तर रुपमा आफ्नो सीप र क्षमताको प्रयोगबाट नै आफू अहिलेको अवस्थामा आएको हुँ यस्तै छ अहिलेको जीवन ।” उनले आफ्नो ब्यवसायलाई थप्दै गएकी छिन् । ब्यवसाय बढाउनमा लघुवित्तहरुले ऋण सहयोग गरेका रहेछन् ।