काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ? भनेर प्रश्न गरेकी छिन् ।
राष्ट्रियसभा बैठकमा एमालेका तर्फबाट बोल्दै वलीले सभामुख सापकोटालाई लक्षित गर्दै सो प्रश्न गरेकी हुन् । उनले सांसद वलीले सभामुख सापकोटालाई दुईजिब्रेको संज्ञा दिंदै दुईजिब्रे अग्नि सापकोटालाई सभामुख पदमा बस्ने अधिकार नभएको बताइन् ।
उनले भनिन् -‘संवैधानिक प्रक्रियाअनुसार विधि प्रक्रिया बाहिर जानेलाई पार्टीबाट निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कसैको स्वार्थका लागि, कसैको विनाशका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ?’ उनले प्रश्न गरिन, ‘जसले कुर्सीको महत्व बुझ्दैन त्यसलाई कुर्सीमा बस्ने अधिकार हुँदैन ।’
‘हिजो रामबहादुर बादल लेखराज भट्ट टोपबहादुर रायमाझी प्रभु साहहको एमालेमा आउँदा पद जाने, माधव नेपालजीहरु जसले पार्टीको ह्विप मानेन, उहाँहरुले पार्टीलाई विखण्ड गर्दाखेरी उहाँहरुको पद रहिरहन मिल्छ ?’
उनले प्रश्न गरिन्, ‘एउटै दिमागभित्र दुइवटा चिन्तन ? एउटै जिब्रोभित्र दुइटा बोली ? यो प्रवृत्तिले स्थायित्व प्राप्त गर्न सक्छ ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थामा कुनै जिम्मेवारी दिनुहुँदैन ।’