• फाल्गुन २८ २०८२, बिहीबार

पौडेल समूहले भन्यो : डडेल्धुरामा फेरि वडा अधिवेशन गर्नुपर्छ

भाद्र २८ २०७८, सोमबार

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको पार्टीको वडा अधिवेशन फेरि गर्नुपर्ने माग गरेको छ। । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेलले डडेल्धुरामा वडा अधिवेशन प्रक्रिया विपरित भएको भन्दै फेरि वडा अधिवेशन गर्न माग गरेका हुन् ।

‘डडेलधुरामा जसरी वडा अधिवेशनबारे हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो’, पौडेलले भनेका छन्, ‘त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो। यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा शंका बढाएको छ। त्यहाँ फेरि चुनाव गराउनुपर्छ। हामीलाई ‘फेक’ चुनाव मान्य छैन। निर्वाचन समितिले त्यसलाई मान्यता दिनुहुँदैन।’

बैठकपछि जारी गरिएको विज्ञप्तिमा पनि पौडेल समूहले डडेलधुरासहितका जिल्लामा भएका क्रियाशील सदस्यता र वडा अधिवेशनको धाँधली सच्याउन पनि आग्रह गरेको छ।

पार्टी सभापति देउवा पक्षले शक्ति र सत्ताको आडमा विधानका प्रावधान तोडेर क्रियाशील सदस्यता वितरण गरिनुले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठाएको पनि पौडेल समूहले जनाएको छ।

धाँधली गरेर वडा अधिवेशन गर्नेले महाधिवेशन निष्पक्ष रुपमा गर्न सक्ने कुनै ग्यारेन्टी नभएको बताउँदै देउवाको उक्त कदम आपत्तिजनक भएको पनि उल्लेख गरेको छ।