• असार २५ २०८१, सोमबार

यसपालीको तीजमा ‘चरी जेलैमा’

भाद्र २७ २०७८, आईतवार

घोराही, २७ भदौ ।
धम्मधम्म झञ्कार फैलाउँदै घोराही–१८ नयाँ बस्ती टोलमा गिठेपानी क्षेत्रकै ठूलो डेग बज्यो । नयाँ लुगामा सजिएका महिला, युवती तथा केटा केटिहरु घरघरबाट सलङ्बलङ गर्दै निस्केका देखिए । यस क्षेत्रको कान्छो टोलले बजाएको चर्को आवाजले तीजको रौनक बढायो ।
शुरुमै ‘चरी जेलैमा’ गित बज्यो । टोलभरीका महिलाहरु खेरिएर सामूहिक नाचे । त्यहाँको व्यवस्थापनमा टोल अध्यक्ष शक्तिराम रोका खेटिनुभएको थियो । मास्क सेनिटाइजर लगायत कुनै कुराको कसैलाई प्रवाह थिएन । सबै खुला दिलले प्रफुल्ल मुद्रामा नाचिरहेका थिए । सबैले दुःख भुले झैं लाग्थे ।

घरदेखि लामो लरो तानेर डेग प्लटिङको चौरमा राखियो, गैह्रबारी ड्याम साइटका महिलाहरु त्रिपाल बिच्छ्याएर निर्धक्कसित बसे । टोल अध्यक्ष हेमकला केसीले व्यवस्थापन गर्नुभएको थियो । कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सम्झना घर्ती लगायत केहि कुर्सिमा बस्नुभएको थियो । त्यहाँ पनि पटक पटक उही गीत ‘चरी जेलैमा’ बजिरहेको सुनिन्थ्यो ।

एकाएक निकै ठूलो वर्षात भयो । सबैले डेग उचालेर घरभित्र राखे तर गीतलाई भने रोकेनन् । न त नाच्नेहरु नै थामिए । हल्का वर्षातमा बाहिरै नाचे पानीले भिजाउन थालेपछि ओतमा पुगेर पनि हल्लिरहे । सेल्फी खिच्न, टिकटक बनाउन र अनेक स्टाइलको साडी मिलाउन व्यस्त थिए ।
गत अष्टमीदेखि नै लेकबेसी टोलमा दिनहुँ जसो तीजको नाच चलेको थियो । पानीबाट बच्न जयकुमारी रोकाको घर अगाडि त्रिपाल टाँगिएको थियो । लगभग प्रहरी गस्तीमा गइरहन्थ्यो भिड नगर्नुस् है भनेर सुझाव दिएपनि हस्तक्षेप भने गरेनन् । तीजको अवसरमा झन् त्यो त्रिपालमा नअटाएर सडक सम्मै नाचे । त्यहाँदेखि हात्तिखर्केको पसल सम्मको सडक क्षेत्र दिनभरी नै नाचमा झुमिरहेको थियो ।

घोराही हात्तीखर्कको कालोपत्रे सडक खण्डको उक्त क्षेत्र बजारीयाका लागि पनि सजिलो थियो । कैयौँ समूहहरु आउँदै नाच्दै फर्किए । पुरुषह पनि नाचमा मिसिएका थिए । निकै सौहाद्र्धपूर्ण वातावरणमा रमाइलो गरे । आफूलाई पूर्वीय दर्शनका विद्यार्थी भन्ने तर त्यस क्षेत्रकाले ज्ञाता मान्ने मित्र घर्ती महिलाहरु मात्रै नाच्ने पर्व भन्नुहुन्छ । उहाँ आफै भने श्रीमतिसँग खुबै मस्किएर नाचिरहनु भएको थियो । गत दुई वर्षको बिचमा भएको ठूलो जमघट मानिन्थ्यो । गत वर्ष कोरोनाका डरले मानिसहरु निस्केका थिएनन् । अहिले भने कोरोनालाई पत्याएनन् ।

बैंसले उन्मक्त युवतिहरु प्रफुल्ल मुद्रामा नाचे । पटक पटक नाचे । अरु साथी संगिलाई तानेर पनि नाचे । अर्को समूहमा पुगेर पनि नाचे । एक्लै पनि घुम्थे । बगालमा गजलमजल भएर पनि नाच्थे । सामूहिक सेल्फी खिच्थे । झरीझट्ट गहनादेखि अनेक श्रृंगारमा सजिएका थिए । उनीहरुलाई बगालमा मिसिएपछि कोरोना सर्ला भन्ने त्रास कसैको मुहारमा झल्किन्नथ्यो । बरु आफ्नो फेसन, कला र सुन्दरता प्रदर्शन गर्नमा होडबाजी भएको बुझ्न सकिन्थ्यो ।

यसरी तीजको अवसरमा बिहीवार दिनभर सिंगै बस्ती नाचगानमा झुम्यो । अधिकांश महिलाहरु झरीझट्ट गहनापातले पहेंलपुर फुलेका देखिन्थे । अनेक क्वालिटीका साडी लगाएर सामूहिक फन्किएर नाच्दा रम्चाउन गएकाहरु थपडी बजाउँथे । हल्का नसामा लट्ठिएका पुरुषहरु पनि नाचमा नारिन्थे उनीहरु व्रत बसेका महिलासँग लामो समय टिकेनन् ।

यसरी बृद्धा महिला देखि फराक लगाएका साना नानीहरु पनि नाचे । तर, मनको भावना पोख्न न गाउन पाए न त वाद्यवादन बजाएर कला कौशल नै देखाए । पाँच ठाउँको नाचले मौलिकता मासिएको पुष्टि गर्दथ्यो । सबै ठाउँमा मेमोरीका गीत डेग मार्फत् घन्किएका थिए । सबैभन्दा धेरै बजेको विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ थियो । पोहोर सालको तीज भन्दा चहलपहल बढि भएको पिपल खाली चोकका स्थानीय एवं लेकबेंसी टोलका अध्यक्ष सूर्यबहादुर थापाको भनाइ छ । उहाँका अनुसार पोहोर सालको जस्तो सुनसान मानिएन । आउने जाने क्रम चलिरह्यो । त्यस अघिका वर्ष जस्तो हुलमुलको तीज पनि यसपटक देखिएन ।