संसारभर सार्वभौम अस्तित्वसहित वैयक्तिक रुपमा रहेका १९५ देशहरु छन् । तर तीमध्ये २ वटा देशहरु होली सी र प्यालेस्टाइन लाई वैयक्तिक राष्ट्रका रुपमा मानिएको छैन । हाल संयुक्त राष्ट्र संघमा यसकारण १९३ राष्ट्रहरु मात्र रहेको मानिएको छ ।
सबैको सर्वमान्य अन्तर्राष्ट्रिय संस्था भनेको हालको संयुक्त राष्ट्र संघ नै हो । तर पनि विश्वमा अति महाशक्ति, महाशक्ति, क्षेत्रीय शक्ति, उदाउँदा शक्तिजस्ता विभिन्न तहमा वर्गीकण गरिएको छ । यो सबै राष्ट्रका आआफ्ना शक्ति, ताकत र पहुँचका आधारमा विभिन्न तहमा सम्बोधन हुँदै आएको छ ।
विश्वमा अमेरिका अहिले अति महाशक्तिको रुपमा रहेको छ । त्यसलाई क्रमशः टक्कर उदाउँदो महाशक्ति चीनले दिन थालेको छ । यो आजको विश्व परिदृष्य हो । यो भन्दा पहिले एक जमानामा बेलायत ‘कहिल्यै पनि सूर्य नअस्ताउने’ महाशक्तिको रुपमा रहेको थियो ।
सैन्य गठबन्धन :
समकालीन विश्वमा अस्तित्वमा रहेका महाशक्ति तथा शक्ति राष्ट्रहरु आआफ्ना स्वार्थका लागि आफूसँग मिल्ने देशहरुसँग मिलेर संयुक्त राष्ट्र संघ बाहेकका अन्तर्राष्ट्रिय सहकार्य गरिरहेका हुन्छन् । एकताका समाजवादी रसिया अस्तित्वमा रहँदा विश्वभर फैलँदो समाजवादी प्रभावलाई रोक्न अमेकिाले ‘नेटो’ नामको विश्व सैन्य गठबन्धन निर्माण गरेको थियो ।
उत्तरी आन्ध्रमहासागरीय सन्धि संगठन अर्थात् नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशनलाई छोटकरीमा ‘नेटो’ भनिएको हो । यसमा बेल्जियम, बेलायत, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्याण्ड, इट्ली, लक्जम्बर्ग, नेदरल्याण्ड, नर्वे, पोर्चुगल तथा संयुक्त राज्य अमेरिका रहेका छन् ।
यो गठबन्धन अहिले नाकाम हुँदै जान थालेको छ । अफगानिस्तानमा पछिल्लो समयमा २० वर्ष लगातार अतिक्रमण गरी शासन चलाइरहेको यो शक्ति गएको अगस्त ३१ मा खाली हात आआफ्नो घर फर्किएको छ ।
नेटोविरुद्ध प्रतिरोध युद्धका लागि तात्कालीन सोभियत संघले ‘वार्सा प्याक्ट’ नामक सैन्य संगठन निर्माण गरेको थियो । यसमा अल्वानिया, बुल्गेरिया, पूर्वी जर्मनी, पोल्याण्ड, रोमानिया, हंगेरी, चेकोस्लोभाकिया तथा सोभियत रुस रहेका थिए ।
यिनै नेटो र वार्सा सैन्य गठबन्धनका कारण विश्व शीत युद्धमा थियो । सोभित संघ १५ गणराज्यमा विभाजित भएपछि वार्सा आफैमा कोल्याप्स हुन पुग्यो । नेटो भने अस्तित्वमा रहे पनि यसको सैन्य प्रभाव निकै कम हुँदै गैरहेको छ ।
अबका दिनमा सैन्य गठबन्धनले विश्वमा तहल्का मच्चाउने पनि देखिदैन । अब त व्यापारले सबैको नेतृत्व गर्ने बेला आइसकेको छ । व्यापार र सेवाका कुराहरुले विश्व कज्याउन थालिसकेको छ ।
अहिलेका व्यापारिक गठबन्धन :
अबका अन्तर्राष्ट्रिय गठबन्धन व्यापारका आधारमा हुन थालेका छन् । व्यापारिक स्वार्थ अब अन्तर्राष्ट्रिय स्वार्थ बन्न पुगेको छ । अमेरिकी विश्व व्यापारको स्वार्थमा निर्माण भएका जी–७ पछिको जी–२०लाई अन्तर्राष्ट्रिय व्यापारको छाता संगठन बनाउन खोजे पनि त्यसले भनेजस्तो गति लिन भने सकेको छैन ।
जी–७ मा अमेरिकाको नेतृत्वमा क्यानडा, फ्रान्स, जर्मनी, इट्ली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् । भने जी–२० मा प्राय विश्वका विकसित देशहरु रहेका छन् । यसमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेशिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रसिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका रहेका छन् ।
यी अन्तर्राष्ट्रिय व्यापारिक संगठनहरुको निर्माणले पहिले निर्माण गरिएका सैन्य संगठनहरुको अबका दिनमा औचित्य नरहेको देखाइरहेका छन् । पछिल्लो चरणमा चीनको विश्वव्यापी व्यापारिक तथा तकनिकीको प्रभाव र बिस्तार अमरिकाका लागि रोक्न असंभव भैसकेको छ ।
ब्रिक्सको प्रभाव :
ब्रिक्स चीनको नेतृत्वमा निर्माण गरिएको एक सशक्त अन्तर्राष्ट्रिय व्यापारिक समूह हो । यसमा उदियमान अर्थतन्त्र निर्माण गरिरहेका दक्षिण अमेरिकाको ब्राजिल, एशियाका रुस, भारत, चीन र अफ्रिकी महादेशको दक्षिण अफ्रिका रहेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङले यसलाई कुनै पनि अन्तर्राष्ट्रिय शक्तिले वेवास्ता गर्न नसक्ने शक्ति बनिसकेको दाबा गरिरहेका छन् ।
यसले विगत १५ वर्षदेखि एकअर्कामा सघन सहकार्य गर्दै अघि बढिरहेको छ । ब्रिक्स राष्ट्रहरुबीच आफैमा पारस्परिक विश्वास बढाउने कार्यले गर्दा यो संगठन बलियो रुपमा देखा पर्दै गएको हो । सी भन्छन् ः उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले वितेका १५ बर्षमा खुलापन, समावेशीकरण, समान व्यवहार, रणनीतिक आदान–प्रदान र राजनीतिक पारस्परिक विश्वास बढाउने कार्यलाई पालना गरेका छन् । यो सहकार्य विश्वको आर्थिक विकास र राजनीतिक सन्तुलनका लागि महत्वपूर्ण रहेको छ ।
अर्कोतर्फ विश्वमा सफलतापूर्वक अक्टोपसको झै टाढाटाढा आफ्ना टेन्टाकलहरु फिँजाउँदै अघि बढिरहेको चीनको गतिलाई रोक्न एशिया महादेशमै अमेरिकाले नयाँ व्यापारिक सञ्जाल तयार पारेको छ । यसलाई ‘क्वार्डिल्याटरल डायलग’ वा ‘क्वाड’ पनि भनिन्छ । यसमा भारत, अष्ट्रेलिया, जापान र अमेरिका (अलास्का) सामेल छन् । यसको उद्देश्य भनेको चार कुनाबाट चीनलाई घेराभित्र पार्नु हो ।
अन्तर्राष्ट्रिय व्यापारिक संगठनमार्फत् आफ्नो प्रभाव र शक्ति बढाउँदै जाने क्रममा कतिपय देशहरु दुई विपरीत ध्रुवमा पनि समावेश हुन पुगेका छन् । यो उनीहरुको स्वार्थ अनुसार हुन गएको हो ।