• मंसिर १२ २०८१, बुधबार

घोराहीका कपडा पसल : किन्ने भन्दा हेर्ने धेरै

भाद्र २६ २०७८, शनिबार

घोराही, २६ भदौ ।
बैंकरोडका कपडा पसलहरु तीजको अवसरमा ग्राहकले भरिभराउ देखिन्थे । पसलेलाई साडी, ब्लाउज, पेटिकोट देखाउन भ्याई नभ्याई हुन्थ्यो । कपडा थुपारेर लथालिङ्ग पारेपछि ग्राहक फर्किन्थे । पट्याउँदैमा पसलेको दिन जान्थ्यो कारोबार भने मुस्किलले फल्सको हुन्थ्यो ।

यसरी तीजको अघिल्लो साँझसम्म घोराही बजारमा ओहोरदोहोर गर्ने मानिसको क्रम निकै बाक्लो थियो । मानिसहरु आपसमा छोइने र सवारी साधनहरु पटकपटक जाम लाग्ने क्रम दिउँसो भरी चल्यो । मुख्य बजार क्षेत्र मानिने  बैंकरोडमा यस्तो समस्या लगभग दिनभरी जसो थियो । हप्ता दिन अघि देखि नै महिलाहरुको तडकभडक र चहलपहल हेर्न लायक थियो ।
‘अथाह मानिस आएका छन्’ बैंकरोडका फेन्सी व्यवसायी एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधव खनालले भन्नुभयो, ‘कोरोना महामारी बिर्सिसकेका छन् ।’ उहाँका अनुसार धेरैलाई मास्कको प्रवाह छैन । धेरैका मुखमा छैन, भएकाको मयल परेको र चिउँडोमा टङ्गिएको हुन्छ । उनिहरु हुल बाँधेर हिंड्छन् । आपसमा छोइने कुराको कुनै ख्याल गर्दैनन् ।

प्रशासनले लकडाउन पूर्णरुपमा नहटाएकोले साँझ आठ बजेपछि होटलहरु समेत खुल्न पाउँदैनन् । विद्यालयमा भौतिक उपस्थितिमा पढाइ भएको छैन । त्यसबाहेक कुनै ठाउँमा रोकतोक देखिन्न । यसकै आधारमा धेरैले विद्यालय क्षेत्रमाथिको गम्भिर प्रहार भनेर अर्थ लगाएका छन् । बजारमा स्कुले उमेरका केटाकेटीको बाहुल्यताले धेरै हदसम्म सरकारको त्यो गलत नीति पुष्टि गर्छ । भिड भाडकै कारण कोरोना सर्छ भन्नेमा पनि धेरैले विश्वास गर्न छोडेका छन् ।

गत वर्ष बाहेक अघिल्ला वर्षहरुमा साउन्ड सिष्टम भाडामा लैजाने र किन्नेहरुको होडबाजी हुनेगरेको एभरग्रिन गिफ्टस एण्ड म्युजिकल शहिद उमेश मार्गका सञ्चालक भोला खनाल कुलराजले बताउनुभयो । यहाँका अनुसार यस वर्ष भाडामा लिने मानिस आएनन् भन्दा पनि हुन्छ । नयाँ डेगहरु पनि बिक्री भएनन् । यसले गर्दा डेग बजाउने नाचगान गर्ने कार्यक्रम हुन्नभन्ने देखाउँछ ।

केहि दिन अघि काँचो कपडामा अलिअलि भिड लागेको देखिन्थ्यो । त्यबेला पनि खास महंगा कपडा बिक्री भएनन् । महंगा साडी खरिदै नगरेको व्यापारीले बताए । उनीहरुका अनुसार पोहोर साल जस्तो भारतसितको नाका बन्द भएन । आफूलाई चाहिने लत्तोकपडा सबैले रुपैडिहा र कृष्णनगर पुगेर ल्याए । यहाँ त नपुगेका सानातिना वस्तु मात्रै किने । चुरा, काँटा, पेटिकोट, ब्लेजर जस्ता वस्तु बिक्रि भए । त्यसबाहेक धेरै व्यवसायीले तीजका सामान बेच्न नपाएको बताउँछन् ।

काँचो कपडा व्यवसायी विकास अग्रवालका अनुसार फल्स माग्ने, नमिलेको ब्लाउज किन्ने ग्राहक मात्रै आए । उहाँका अनुसार व्यापार गर्न सिमापारी गए, मात्र व्यवसायीलाई दुःख दिन यहाँ आए । तिनले साडी चाहियो भनेर पाँच सातवटा खोल्ने हेर्ने मात्रै गरे ।

आफूले ल्याएको साडी कुन स्तरको छ भनेर म्याच गर्ने र रेट बुझ्ने बाहेक अरु कुनै उद्देश्य थिएन । केहि ग्राहक भने झुण्ड बनाएर आउने दोकनादार झुक्याउन सकियो भने एउटा दुइटा झ्याप्प पारी हाल्ने पनि थिए । एउटै पसलबाट दर्जन बढि कुम्ल्याएर भाग्न लागेको फेला पारेको दाङ चेम्बर अफ कमर्शका उपाध्यक्ष समेत रहेका अग्रवालको भनाई छ । उहाँका अनुसार सिसिटिभी नराखेका दोकानदारलाई अल्झाउने र चोर्ने काम भयो । कपडाको व्यापार भएन ।

लकडाउनको मारमा परेका व्यापारीलाई राहत होस भनेर आफूहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सटर भाडा तिर्ने, राज्यलाई कर बुझाउने व्यवसायीको सरकारले संरक्षण गर्न सकेन ।

ज्ञापन पत्र बुझ्दा प्रशासनले दिएको आश्वासन पनि फोकट रहेछ । मानिसहरु गाडी लगेरै समान किन्न भारतीय नाकाका बजारमा पुगेको पुष्टि भयो । उनिहरुले निर्वाध रुपमा किनमेल गरे । त्यसमा नेपालको प्रशासनको कुनै भूमिका देखिएन । हामीले त्यसरी अवैध रुपमा ल्याउन दिँदैनौ भन्ने प्रशासनको आश्वासन शब्दमै सिमित भयो ।

तीजको सामान ल्याएर फर्किंदै गर्दा चारजना महिलाको सिस्ने खोलामा अनाहकमै ज्यान गएको थियो । यातायातका साधन खुलेपछि कोरोनाको प्रवाह कसैले पनि गरेनन् । भारतीय बजार नजिक भएकाले सबैजसो उतै गए । ठूलो व्यापार त्यतै भयो । यहाँका व्यवसायीले आशा र उत्साह धेरैदिन टिकेन । सवारी साधन खुलेसँगै सपना अधुरै रहेको उनीहरुको भनाई छ ।