• मंसिर ११ २०८१, मंगलवार

डेल्टा भाइरस संक्रमणको खतरा नेपालीमाझ अझैं पनि छ : डा. जनक कोइराला

भाद्र २५ २०७८, शुक्रबार

(देशमा कोरोना महामारी संक्रमण फैलिने क्रम रोकिएको छैन । भारतबाट उत्पत्ति भएको डेल्टा भाइरसको संक्रमण बालबालिकासम्म पुग्ने र त्यसले ठूलै विपत्ति निम्त्याउने अनुमान भैरहेको छ । यस्तो बेलामा सरकारले निषेधाज्ञालगायतका जारी गरिएका सबै प्रशासनिक पहलहरु फिर्ता लिएको छ । यसले कतै संक्रमण बढाउन मद्दत त गर्दैन भन्ने विषयमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग गोलमेडिया न्युज डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ–सम्पादक ।)

१.कोरोना महामारी रोगको संक्रमण दर घट्दै गएको हो ?

अहिले कोरोना संक्रमण दर घट्दै गैरहेको छ । पहिले चारहजारसम्म पुगेको संक्रमण दर अहिले घटेर हजार÷पन्ध्र सयमा झरेको छ । यो भनेको सुधारोन्मुख नै हो ।

तर पनि हामीले होश पुर्याउनु पर्छ । सबै सेक्टर खुलाहुँदै गएका छन् । यस्तो अवस्थामा आवश्यक रोकथामका उपायहरु अबलम्वन गर्न बिर्सियो भने हामी अझै ठूलो समस्यामा पर्न सक्छौं ।

२. संक्रमण दर घट्नुमा के कुराले मद्दत गरेको पाउनु भएको छ ?

हामीले पहिलो र दास्रो लहर खेपिसक्यौं । यो बेलामा देखियो संक्रमण कति भयावह हुँदो रहेछ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्दो रहेछ । यो पनि थाह पायौं ।

यसको नियन्त्रणमा लकडाउनले पनि सहयोग गरेको छ । त्यति बेला अस्पतालहरु भरिभराउ थिए, अक्सिजनको अभाव भैरहेको थियो । लकडाउनले यसलाई केही रोक्यो । मास्कको व्यापक रुपमा प्रयोग भयो । पछि हामीले सामाजिक दुरी कायम गर्न सिक्यौं र सक्यौं पनि ।

यो बीचमा इडिसिडी र स्वास्थ्य मन्त्रालयको संयुक्त तत्वावधानमा एउटा सर्भे पनि गरिएको थियो । यो सर्भेले नेपालको कूल जनसंख्याको ७० प्रतिशत मानिस पहिलो र दोस्रो लहरमा संक्रमित भैसकेको देखाएको छ । अहिलेको भाइरस त लक्षणविहीन संक्रमणका रुपमा पनि फैलिइरहेको छ ।

३. यो त झन डरलाग्दो भएन र ?

हो, यो डेल्टा भाइरससँग सम्बन्धित छ । बिरामी नबनाएर अरुमा संक्रमण हुन सक्ने खालको छ यो । अहिले ३० वा ४० प्रतिशत जसोमा यो लक्षण देखिइरहेको छ । खोप लिएकालाई समेत यसले फेरि असर गरिरहेको छ । नेपालमा खोप लिएका संख्याका हिसाबले ५० प्रतिशत पनि काटेको देखिदैन । खोपको मात्रा बढाउनु पर्छ ।

अब विद्यालय खुल्दै छन् । बालबालिकाहरुलाई संक्रमण हुने चान्स बढि छ । अहिले संक्रमण घटिरहेको छ भने पनि सावधानी भने अपनाइ नै रहनु पर्छ ।

४. सक्रिय संक्रमित संख्या अझैपनि बढि नै छ । हाराहारीमा तीस हजारको वरिपरि देखिन्छ । यो नेपालको जनसंख्याको आधारमा कम नै हो त ?

कूल जनसंख्यामा हेर्दा पनि तुलनात्मक रुपले हेर्ने हो । देशभर संक्रमितको संख्यामा धेरै कमी आउन सकिरहेको छैन । तथापि दैनिक संक्रमित हुनेको संख्यामा कमी भने आउँदै गएको हो ।

सिंगो जनसंख्यामा हामीले व्यापक परीक्षण पनि गर्न सकिरहेका छैनौ । संक्रमितको प्रतिशत पहिलेका केही दिनहरुमा ३० प्रतिशत भन्दा माथि पनि पुगिसकेको थियो । यो अहिले घटेर १० देखि १५ प्रतिशतमा आउनु आधाभन्दा बढि कम हुनु हो । संक्रमितको संख्या पनि घट्दै गैरहेको देखिएकाले संक्रमित संख्यामा पनि कमी आउने देखिन्छ ।

अझै पनि सिरियस बिरामीहरु भेन्टिलेटरमा छन् । यो पनि घट्दै जाने क्रममा छ ।

५. तर खुल्ला वातावरण भैसक्यो ?

हो, यसले प्रभाव अवश्यै पनि पार्ने छ । होटल खुले, डान्सवार खुले, रेष्टुरेन्ट खुले, विद्यालय खुल्दै छन् । यसको असर पनि बढ्दै जाने देखिन्छ । हामी सामाजिक प्राणी हौं । घुलमिल भै पो हाल्छौं । भिडभाड बढ्दा रोग सर्ने पनि हुँदै जान्छ ।

हामी चिकित्सकहरुको सल्लाह के रहन्छ भने दैनिक जीवनका क्रियाकलाप त अगाडि बढाउनु नै पर्यो । तर सावधानी र संक्रमण रोकथामका उपाय भुल्न भएन ।

६. भनेपछि अझै पनि स्वास्थ्यका लागि गम्भीर खालको अवस्था पो देखिन्छ त, सरकारले यसबारे सोच्नु पर्ला कि ?

हामी सामाजिक प्राणी हौं । हाम्रो जीवन आफैमा आर्थिक जीवन पनि हो । आर्थिक रुपमा बाँच्न पनि सक्नु पर्छ मानिसलाई । समाज सधैंभरि बन्द भएर रहन सक्दैन । यसका पछाडि यिनै कारणले काम गरेका छन् ।

पहिलो त घट्दै गएको छ, संक्रमण । दोस्रो, जीवनयापनका लागि आर्थिक क्रियाकलाप गर्नै पर्यो । हामीले सावधानी लिएर काम गर्दै जानु पर्छ ।

७. के नेपालीहरुमा रोग प्रतिरोधी क्षमता बढेकै हो ? एन्टीबडीको अवस्था कस्तो छ नेपालीहरुमा ?

एन्टी बडी टेस्ट पनि धेरैमा गरिएको छैन । गरिएपछि पत्ता लाग्ने कुरा हो यो । साधनस्रोतले धान्न पनि सक्नु पर्यो । तर खोपको बिस्तार भएपछि भने नेपालीमा ९० प्रतिशत सम्म एन्टीबडी पोजिटिभ भएको देखाएको छ । यो निकै राम्रो कुरा हो । तर खोप लगाएका मानिसलाई पनि डेल्टाभाइरस हुने चान्स भने छ । खोप नलगाएकालाई डेल्टा भाइरसले निकै असर पारेको देखिन्छ । तर खोप लगाएकालाई असर कम गर्ने गरेको पाइएको छ ।

८. खोप लगाउन त बाँकी नै छ । संक्रमण बढ्छ कि के हो ?

खेप बारेमा भ्रामात्मक कुराहरु फैलाइएको पनि छ । विकसित देशहरुमा पनि यस्ता भ्रम निकै फैलाइएका छन् । अष्ट्राजेनिका जापानबाट आएको छ । भेरोसेल चीनबाट आएको छ । यी खोपहरु संसारभर करोडौंको संख्यामा लगाइसकेकाले यी खोप लिनदेखि डराउनु हुँदैन ।

खोप वा औषधिको केही साइड इफेक्ट त हुन्छ नै । त्यो जुन औंषधिको पनि हुने गर्दछ । त्यसैले नडराएर खोप लिनु जरुरी छ ।

९. खोप कति प्रतिशत जनताले लिएभने समाजमा महामारी संक्रमणको डर कम हुँदै जाला ?

यो रेसियोमा हेर्दा नेपालमा २ करोडभन्दा बढीले खोप लिनु पर्ने हुन्छ । एज ग्रुपका हिसाबले १८ वर्षमुनिका लाई खोप दिइएकै छैन । अब १२ वर्ष सम्मकालाई खोप दिने गरी यसको विकास भैसकेको छ । यो समूहमा पनि खोप पुर्याउने लक्ष्य राख्नु पर्ने हुन्छ । यसले बिरामीलाई साह्रो हुनबाट बचाउँछ, तर रोग लाग्नैबाट भने रोक्न सक्दैन ।

निकट भविष्यमै केही भै पो हाल्ने हो कि भन्ने त छैन । तर सतर्कता भने अपनाउनु नै पर्छ । ७० प्रतिशतमाथि खोप पुर्याउनु पर्छ ।

१०. भाइरस त नयाँ नयाँ आउँछ, पहिलेको खोपले नधान्ने हो कि ?

भाइरस नयाँ नयाँ ‘म्युटेड’ भएर आउँछ । स्वरुप फेरिँदा पनि यसको संक्रमण दर बढेर जाने गर्छ । नयाँ स्वरुपलाई पहिले तयार भएको ‘इम्युन सिस्टम’ले बचाउन नसक्दो रहेछ ।

कतिपयलाई त हरेक लहरले छोइरहेको छ । यो भाइरस फ्लुको रुपमा पनि आउने र व्यापक रुपमा संक्रमण हुने पनि देखिएको छ । यसको नियन्त्रणका लागि वर्षेनी खोप लिइराख्नु पर्ने पो हो कि ? वा, पहिलोपछि दोस्रो डोज लिए झैं तेस्रो पो लिनु पर्ने हो कि त्यो पनि निक्र्योल भैसकेको छैन । यो बारम्बार फर्किएर आउँछ, तर नयाँ स्वरुपमा ।