काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीको महाधिवेशनमा राज्यको साधन–शक्ति प्रयोग नगर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटारमा भेटेर ध्यानाकर्षण गराएको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।
‘पार्टीको निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस् भनेर आग्रह गर्यौँ,’ ‘हामीले पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् भनेका छौँ । साथै पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौँ,’ उनले भने।
क्रियाशील सदस्यताको विवाद समाधान र बाँकी जिल्लाको वडासहित अन्य तहको अधिवेशनको प्रक्रियाका विषयमा समेत नेताहरूबीच छलफल भएको छ । १४ औँ महाधिवेशनअन्तर्गत भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन ५५ जिल्लामा मात्रै प्रक्रियामा छ ।
कतिपय जिल्लामा अझै सकिएको छैन भने । देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यताको विवरण सार्वजनिक भए पनि विवादका कारण वडा अधिवेशन हुन सकेको छैन । त्यसबाहेक प्रदेश २ का सबैसहित २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलेको छैन । भदौ २७ गते पालिका तहको अधिवेशन गर्ने अर्को कार्यतालिका छ । पौडेल समूहले सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर ७५३ वटै पालिकाको अधिवेशन एकैपटक गर्नुपर्ने माग गरेको छ ।