काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो ।
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई नेताबीच संवाद भएको यो मात्र दोस्रो पटक हो ।
व्यापार, जासुसी र महामारीका विषयलाई लिएर पछिल्लो समय दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ ।
‘सो छलफल अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्ण ढंगले व्यवस्थापन गर्ने अमेरिकाको प्रयासको अन्तरगत रहेको थियो,’ ह्वाइट हाउसको भनाइ छ, ‘दुई नेताले दुई देशको जिम्मेवारीको बारेमा चर्चा गर्दै प्रतिस्पर्धा संघर्षको दिशामा अघि नबढोस् भन्नेमा छलफल गरेका छन् ।’
यसअघि, दुई देशबीच भएको उच्च स्तरीय वार्ता तनावपूर्ण बनेको थियो । दुवै देशका अधिकारीहरुले एकअर्काप्रति तिखो टिप्पणी गरेका थिए ।