• मंसिर १२ २०८१, बुधबार

भागेका सरकारी अधिकारीलाई स्वदेश फर्कन तालिबानी प्रधानमन्त्रीको आग्रह

भाद्र २४ २०७८, बिहीबार

काठमाडौं । अफगानी कार्यकारी प्रधानमन्त्री मुल्लाह मोहमद हसन अखुन्दले तालिबानले मुलुकलाई कब्जामा लिएपछि भागेका पूर्वअधिकारीलाई मुलुक फर्किन आग्रह गरेका छन् । अफगानिस्तानमा उनीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गरिने उनले बताएका छन् ।

बुधबार अलजाजिरासँगको अन्तर्वार्तामा बोल्दै उनले कूटनीतिक अधिकारी, दूतावास र मानवीय सहयोगजस्ता क्षेत्रमा सुरक्षाको प्रत्याभूति गरिने बताए । त्यस्तै उनले आफ्नो क्षेत्र र अन्य क्षेत्रका मुलुकसँग सकारात्मक र बलियो सम्बन्ध राख्न चाहेको उल्लेख गरे ।

अखुन्दले तालिबानका नेतालाई अहिले अफगान नागरिकप्रति ठूलो जिम्मेवारी र परीक्षा रहेको बताएका छन् । ‘हामीले अफगानिस्तानको इतिहासमा ठूलो मानवीय र आर्थिक क्षति बेहोरेका छौं ।

अब रक्तपात, हत्या र अफगानिस्तानका मानिसप्रतिको अपमानको चरण सकिएको छ र हामीले यसको मूल्य पनि चुकाइसकेका छौं’, उनले भने । अखुन्दले मानिसको यसअघिको कदमको कारण कसैलाई पनि क्षति नर्पुयाइएको दाबी गरे । तालिबानले मंगलबार आफ्नो अन्तरिम सरकार घोषणा गरेको थियो ।

यो सरकारमा रहेका ३३ पदमध्ये १४ ओटा पदमा सन् १९९६–२००१ मा शासनकालका तालिबानी अधिकारी छन् । तालिबानले बनाएको सरकारमा महिला र कमजोर धार्मिक अल्पसंख्यक नअटाएको भन्दै यसको विरोध भइरहेको छ । यसअघि तालिबानले अफगानिस्तानमा समावेशी सरकार बनाउने बताएको थियो । एजेन्सीको सहयोगमा ।