• मंसिर ८ २०८१, शनिबार

ब्रह्माण्ड कति ठूलो छ ?

भाद्र २४ २०७८, बिहीबार

वैज्ञानिकहरुले भनेका छन् कि ब्रह्माण्डको आकार अनन्त छ र हाम्रो पृथ्वी यो ठुलो ब्रह्माण्डमा मात्र एउटा सानो कणको रूपमा रहेको छ । ब्रह्माण्ड अनन्त नै छ भने त्यसको परिधिमा ताराहरु छरिएर रहेका हुन्छन् ।

अहिलेसम्म वैज्ञानिकहरुले ब्रह्माण्डको जति अध्ययन गरेका छन्, उनीहरुले अध्ययन गरेको ठाउँसम्म ताराहरु फेला पारेका छन् । ब्रह्माण्डका बारेमा एउटा निकै रमाइलो कुरा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए । उनको विश्वास ब्रह्माण्ड घुम्रेको हुनुपर्छ भन्ने थियो ।

एउटा अर्को निकै रमाइलो लाग्दो ब्रह्माण्डसम्बन्धी सिद्धान्तअनुसार ब्रह्माण्ड सधैँ नै फैलिरहेको अवस्थामा रहेको हुन्छ । सर अथर इडिङटन यस सिद्धान्तका प्रमुख प्रतिपादक हुन् । उनले यो कुरा आफ्नो किताब ‘द एक्सपान्डिङग युनिभर्स’ मा उल्लेख गरेका छन् ।

अर्को वैज्ञानिक आवे लेक्याट्रेको सिद्धान्तअनुसार अरबौं वर्षपहिले सारा ब्रह्माण्ड एउटा अणुको डल्लोका रूपमा रहेको थियो । एउटा ठुलो बिस्फोटपछि यो डल्लो टुक्रियो र बिस्फोटन वरिपरिका सबै दिशाहरुतिर फैलन थाल्यो ।

कतिपय खगोलशास्त्रीहरुको अनुसार ब्रह्माण्ड कहिले फैलिँदै जान्छ र कहिले साँघुरिदै जान्छ । यो फैलने र साँघुरिने क्रम सधैँ जारी रहन्छ । यी सबै सिद्धान्तहरुको बाबजुद पनि ब्रह्माण्ड यस्तै छ र यत्रै छ भनेर किटानीका साथ कसैले पनि भन्न सकेका छैनन् ।

ब्रह्मण्डमा विशाल शुन्यता (स्पेस) छ । पदार्थका साथसाथै अत्यधिक शक्ति समेत छ । शक्ति, ताप, प्रकाश–रे, गामा–रे, रेडियो तरंग आदि रूपहरूमा रहेको छ ।