• मंसिर १७ २०८१, सोमबार

जब हाकिमले भने,‘पिठो मुछ्ने टेबुल त ग्राहकलाई ख्वाइसक्नु भएछ त’

भाद्र २४ २०७८, बिहीबार

घोराही, २४ भदौ ।
‘पिठो बेल्दा–बेल्दा तपाईंको टेबुल खिइएको छ’, गत शुक्रवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बञ्जाराले बेकरी उद्योग सञ्चालकहरुलाई भन्नुभयो,‘आधा त उपभोक्ताले खाइसक्नु भयो ।’ उहाँले त्यसरी विस्तारै विस्तारै खिइने कटबोर्ड र टेबुल खाएका ग्राहकमा क्यान्सर तथा बाँझोपन हुने खतरा औंल्याउनु भयोे ।

स्थापना कालदेखि नै डिभिजन प्रमुख रहनुभएका बञ्जाराले पटक पटक बजार अनुगमन गर्दाका अनुभव पनि सुनाउनु भयो । उहाँले उद्योग सञ्चालकहरु आफ्नो भूमिकामा नरहेको भन्दै चिन्ता गर्नुभयो । ‘तपाईं साहुजी जस्तो भएन, कामदारले टेर्दो रहेनछ, तपाईं केहि भन्नै सक्नुहुँदो रहेनछ । हामीले भनेर टेर्दैनन् हजुरले भनिदिनुस् भन्नुहुन्छ । न्यूनतम अनुशासन त लागु गर्न सक्नुहोस् । हामी कामदारै पिच्छे भन्दै जाने त होइन । हामीले त समात्ने तपाईं साहुजीलाई हो ।’

दुई तिनवटा पेशामा लागेपछि उद्योगमा ध्यान कम भयो । कामदारलाई गुन्याउन र काम खानका लागि रुखो व्यवहार देखाउनु भएन । यसरी सिर्जिएको लचिलो व्यवहारले उपभोक्ताको हितमा काम नहुने खतरा बढ्यो । उत्पादित वस्तुमा गुणस्तर नहुने स्थिति आयो । त्यसरी अनुशासन नै नभएको ठाउँमा सिष्टम पनि हुँदैन । ‘कमाइ धेरै हुँदैन सर’, व्यवसायीले हलबाटै जवाफ फर्काए, ‘त्यसैले अरु पेशा पनि गर्छौं ।’

उनीहरुले कमाईको सिमा कति हो खुलाएनन् । कमाई भनेको पैसा कि इमान्दारीता वा पहिचान, जवाफ थिएन । बरु केहि जना खितिक्क हाँसे ।
भण्डार कोठामा भुईंदेखि धोराएर पिठो राखेकाले पनि ठिकै गरेको छु भन्ने गरेको प्रमुख बञ्जराको भनाइ थियो । उहाँका अनुसार यसरी भुईंसम्मै नराख्नुस् भनेपछि धेरै वर्ष भयो केहि भाछैन, भन्ने जवाफ दिन्छ । खाद्य तथा किराना व्यवसायीले ढलान गरेको घरमा गोदाम बनाएपनि ओस हावाबाट आउँछ । सबैभन्दा छिटो पिठोले सोस्छ । त्यहि चिसोले बिगार्छ र घुन तथा चिलेसा पर्ने गर्छ । यसरी किन्ने कच्चा पदार्थदेखि बेकरी उद्योग सम्मकै भण्डार ठिक छैनन् ।

उत्पादकले बजारमा मूल्य र तौलमा मात्रै प्रतिस्पर्धा गर्छन् । मेरो बेकरीको साइज ठूलो र मूल्य सस्तो छ भनेर जान्छन् । यस कारण क्वालिटीको छ, सुरक्षित छ भनेर व्यापारी बजार जाँदैनन् । त्यसले गर्दा आफ्नो कम्पनीलाई ब्राण्डेट बनाउन चुकेका छन् । त्यसैको नतिजा ग्राहकलेपनि कुन कम्पनी भनेर सोध्दैनन् । उनीहरुले बेकरी उद्योगका उत्पादनमा फरक स्वादको अनुभवै गरेका छैनन् ।

मेसिनको मुख मात्रै सफा छ । त्यसको बाहीर फेर लागेको पिठो समेत धोएको हुँदैन । हेर्न गयो यो सफा गर्नुस् भन्यो । काम गर्दागर्दै भएको हो । गरिरहेको छु भन्छ । नियमित र विधि सम्वत देखिदैँन । यसरी पुरै मेसिन तथा कोठा सफा नगरेमा संक्रमण सर्ने खतरा रहने प्रमुख बञ्जाराले बताउनु भयो । उहाँका अनुसार सकभर उद्योगमा टाइल लगाएको हुनुपर्छ । त्यति नभए कंक्रिट अनिवार्य बिच्छ्याउनु पर्छ । चिल्लो नसोस्ने हुनुपर्छ । त्यो सोस्यो भने त्यहिँ विषाक्त पदार्थ उत्पादन हुन्छ । उद्योग भित्र लगाउने रंग पनि फोहर नटाँसिने खालको रोज्नुपर्छ ।

बाहीर लगाएको लुगा जुत्ता चप्पल उद्योग भित्र पस्दा फेर्नुपर्छ । घरबाट लगेको अलग ठाउँमा पोशाक बदलेर मात्रै उद्योगमा छिर्नुपर्छ । उहाँका अनुसार केहि उद्योगले चेञ्जिङ रुम र मेशिन एउटै हलमा बनाएको देखियो । काम गर्नुअघि घडि, औंठी, चुरा निकाल्नुपर्छ । नङ पालिस लगाउनै हुँदैन । सुर्ती चुरोट खानेलेपनि भित्र खान र फाल्नु हुँदैन । बाहीर निस्केर खाई हात धोएर मात्रै भित्र पस्नुपर्छ । यस्ता कुरामा उद्योगले ध्यान नदिएको भन्दै सचेत रहन सुझाव दिनुभयो ।

यसैगरी डिभिजनका प्राविधिक सहायक सरोज खनालका अनुसार व्यक्तिगत सरसफाई बिना खाद्य स्वच्छताको कुरै नगरे हुन्छ । एउटा उद्योग अगाडि बाख्रा र पछाडि सुँगुर पालेको भेटियो । कसैको उद्योग अगाडि गन्हाउने नाला छ । त्यस्तो ठाउँमा पनि खाद्य स्वच्छता हुँदैन । जालिदार पल्ला हुनुपर्छ । मुसा, साङ्ला कुनैपनि नपस्ने व्यवस्थित बनाउनुपर्छ । धेरैमा यस्तो छैन । पिउन मिल्ने पानीले मात्रै भाँडा वर्तन धुन सुझाव दिनुभयो । खानेकुराम लापरवाही नगर्न आग्रह गर्नुभयो ।

उहाँहरुले उद्योगीहरुलाई घाउ लागेका, विरामी कामदारलाई कामै लगाउनुहुँदैन भनेर सुझाव दिनुभयो । नङ लामा पालेका, मोबाइल खेलाउँदै गरेका देखियो भनेर उद्योगप्रति असहमति प्रकट गर्नुभयो । उपभोक्तालाई सुरक्षित खान नदिने भए उद्योग बन्द गर्न चेतावनी दिनुभयो । जनस्वास्थमा असर पुग्ने खानेकुरामा लचकता अपनाउन नसकिने उहाँहरुको भनाई थियो । कहिँ कतैबाट फोहोर तथा दुषित कुरा मिसिने अवस्था देखिए नष्ट गर्ने चेतावनी दिनुभयो । सुझाव अनुसार सुधार गर्न नसक्ने कम्पनी बन्द गर्न सकिने उहाँहरुको भनाइ थियो ।