प्रारम्भ :
आजको वैज्ञानिक युगमा मानव विकासको गति बढेको मात्रै हैन, बरु विज्ञानले मानिसको जीवनलाई अझ धेरै सरल एवम् सुविधाजवनक बनाइदिएको छ । यद्यपि नयाँ प्रविधिको प्रयोगले कैयौं रोगव्याधीहरु, चुनौतिहरु एवम् समस्याहरुको पनि जन्म दिएको छ ।
विज्ञान एवम् आधुनिक प्रविधिहरुको प्रयोगले प्राकृतिक वातावरणलाई दुषित मात्र गरेको छैन बरु मानवविकृत वैज्ञानिक वातावरणको जालो बिछ्याएको छ । प्रविधिको यो अन्धाधुन्ध प्रयोगले धरतीको अस्तित्वलाई जोखिममा पारेको छ । यस सम्बन्धमा जुन सबैभन्दा ठूलो समस्या उत्पन्न भइ राखेको छ । त्यो हो प्लाष्टिकको बढीभन्दा बढी प्रयोग तथा यसबाट बन्ने मानवकृत बस्तुहरुको दैनिक जीवनमा उपयोग ।
वर्तमानमा हेरिने हो भने प्लाष्टिकको उपयोग मानिसको जीवनमा लगभग सबै ठाउँहरुमा गरिदै छ । बजारमा सामान किनवेच गर्नका लागि पनि पोलिथिनको रुपमा प्लाष्टिकलाई निर्वाध रुपमा खुलयाम प्रयोग गरिन्छ ।
जबकि विज्ञानका अनुसार प्लाष्टिक एउटा यस्तो पदार्थ हो जुन डढाउँदा पनि पूर्ण रुपले नष्ट हुँदैन । यस्तोमा सर्वसाधारणद्वारा ज्ञानको कमीका कारण यसको उपयोग पछि खुलेयाम बाटाचौबाटा, ढल नाली वा खुला ठाउँमा फ्याक्नाले फोहर त हुन्छ नै पूर्ण रुपले नष्ट नहुँदाको कारणले वातावरण पनि प्रदुषित हुने गर्दछ ।
विशेषज्ञहरुका अनुसार प्लाष्टिक १०० वर्षसम्म नष्ट हुँदैन । पोलिथिनको उद्योग खाद्य वस्तुहरु राख्न र ल्याउन लैजानमा गरिन्छ, जसलाई बाहिर फ्याक्दा गाइवस्तुले खाँदा यो तिनीहरुको पेटमा जस्ताको त्यस्तै रहिरहन्छ । जसले तिनीहरुमा गम्भीर स्वास्थ्य जटिलता श्रृजना गर्दछ ।
पोलिव्यागको प्रयोग हुनुको कारण यो सस्तो हलुङ्गो एवम् जलरोधक हुनुलाई मानिन्छ । मानिसहरु सजिलै यसमा कुनै पनि सामान लान ल्याउन सक्छन् । यही कारणले होला यो हाम्रो दैनिक जीवनमा धेरै बढी प्रयोगमा ल्याइन्छ । मानिसहरु लुगा, जुट एवम् कागजबाट बनेका झोलाको ठाउँमा पोलिव्यागको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् ।
आजभोलि पोलिथिनजति सस्तो एवम् हलुङ्गो हुन्छ त्यसभन्दा बढी पर्यावरणका लागि खतरनाक हुने गर्दछ । किनभने यो कहिले पनि नष्ट हुँदैन । यदि यसलाई माटोमा गाड्ने हो भने यसबाट भूमिको उर्वरक शक्ति मात्र नष्ट हुँदैन बरु बोटविरुवाहरुलाई पनि नोक्सानी पुर्याउँदछ ।
यहाँसम्म कि यसलाई जलाउँदा पनि वातावरणलाई नोक्सानी पुग्ने खतरा बढेर जान्छ । आफ्नो थोरै सुविधा एवम् लालचको लागि मानिस आफ्नै स्वास्थ्य मात्र हैन बरु वातावरण एवम् सम्पूर्ण सभ्यतासँग खेलाची गर्दै छ ।
पोलिव्यागको उपयोगले पर्यावरणलाई निरन्तर नोक्सानी पुर्याउँदछ छ । लाखौंको मात्रामा पोलिव्यागको उपयोग केही मिनेटदेखि घण्टासम्म गरिन्छ अनि त्यसपछि विना कुनै सुरक्षात्मक उपायले यिनलाई खुल्ला ठाउँमा फ्याक्ने गरिन्छ ।
काठमाडौं शहरको प्रत्येक गल्ली, चोकमा सामान्य दृश्यको रुपमा दिनहुँ देख्न सकिन्छ । यसले गर्दा जहाँ नालीहरु एवम् ढल जाम हुन पुग्दछ त्यही छाडा पशुहरुले पनि फोहरु मैलासँगै यसलाई खाएर मृत्युको शिकार हुने गर्दछन् ।
सबैभन्दा ठूलो चिन्ताको कुरो त यो छ यसका कारण माटोको उर्वरक क्षमता हराएर जान्छ । हाम्रा सहर, राजमार्गको होटलहरुमा दैनिक हजारौं टन फोहोरमैला निस्कन्छन् जसको झण्डै २०–२५ प्रतिशत प्लाष्टिकजन्य फोहरमैला हुने गर्दछ ।
यसलाई उचित प्रक्रियाको माध्यमबाट विस्तारित गर्ने प्रयास गरिन्छ तर अन्य अपशिष्ट पदार्थहरुको तुलनामा प्लाष्टिक चाँडै नष्ट हुँदैन । यस्तो परिस्थितिमा जनसमुदाय आफैं अगाडि आएर पर्यावरणका लागि प्लाष्टिकको उपयोगलाई त्याग गर्नुपर्ने हुन्छ ।
वर्तमानमा कोभिड–१९ को गम्भीर स्थितिलाई दृष्टिगत गर्दै ठाउँठाउँमा बनइएका क्वारेन्टाइन केन्द्रहरु बनाइएको त छन् जहाँ विरामीहरुको उपचार पछि बेकार प्लाष्टिकका फोहर मैला नजिकको खुल्ला ठाउँमा विसर्जन गरिने गरिएको छ जसले त्यहाँका वासिन्दाको स्वास्थ्यमा नराम्रो असर पर्ने आशङ्का बढेर गएको छ । यस्तोमा यस वैश्वीक समस्यामा काबु पाउन नितान्त आवश्यक भएको छ ।
पोलिथिनबाट पर्यावरणमात्र दुषित भइराखेको छैन बरु यो मानवीय स्वास्थ्यको लागि पनि सबैभन्दा ठूलो शत्रु साबित भइराखेको छ । तर पनि मानिस यसबाट अन्जान भएर जीवनको हरक्षेत्रमा यसको उपयोग गरिराखेको छ । विज्ञका अनुसार तातो खानेकुरालाई पोलिव्यागमा राख्ने वा संग्रहित गर्नाले खानेकुरा पनि पूरै तरिकाले रसायनिक हुने गर्दछ ।
यसलाई उपभोग गरेर मानिस स्वयम् रोगरुबाट घेरिन पुग्दछ । प्लाष्टिकको गिलासहरुमा चिया वा तातो दुध सेवन गर्नाले त्यसको रसायन मानिसहरुको पेटमा पुग्दछ । यसलेगर्दा झाडा पखाला एवम् क्यान्सर जस्ता गम्भीर विरामीहरु हुने गर्दछ ।
वैश्वीकस्तरमा उत्सर्जन हुने फोहोर मैलाहरुमा झण्डै १२–२० प्रतिशत प्लाष्टिकजन्य फोहोर मैला हुने गरेको तथ्याङ्कित अभिलेख पाइन्छ जसमध्ये ६० प्रतिशत पुनप्र्रयोग हुँदैन । यिनीरु यतिकै वातावरण पर्यावरणमा रहिरहेका हुन्छन् जुन आजको पर्यावरण प्रदूषणको प्रमुख कारण मानिन्छ ।
सबैभन्दा ठूलो चिन्ताको कुरो त यो छ कि महिलाहरुका लागि बनाइएको स्यानिटरी, न्यापकिनहरुमा पनि परोक्षरुपले प्लाष्टिकका प्रयोग गरिन्छ । न्यापकिन बनाउँदा कपासका साथै प्लाष्टिक एवम् रसायनहरको प्रयाग गरिन्छ, जसबाट यौन अङ्गहरु एवम् पाठेघरमा संक्रमण हुने खतरा बढेर जान्छ ।
देशको शहरी क्षेहरुका त करिवन ७७ प्रतिशत एवम् ग्रामीण क्षेत्रहरुमा ४० प्रतिशत महिलाहरु महिनावारीको बेला यही प्लाष्टिकयुक्त न्यापकिनको प्रयोग गरेर संक्रमित भइराखेका छन् ।
त्यही अशिक्षाका कारण धेरैजसो महिलाहरु सेनिटरी न्यापकिनहरुलाई प्रयोगपछि यसलाई सुरक्षापूर्ण नष्ट गर्नुको साटो खुल्ला फ्याक्ने गर्दछन् यसबाट संक्रमण फैलिने खतरा बढेर जान्छ ।
तत्कालका लागि प्लाष्टिक मुक्त गर्नका लागि हरेक देशका सरकारहरु विभिन्न योजना एवम् संकल्प त गर्दछन् तर कुनै पनि योजना त्यसबेलासम्म जमिनी धरातलमा सफल हुन सक्दैन जबसम्म यसमा जनसमुदायको पूर्ण सहभागिता हुँदैन । यद्यपि यस्ता योजनाहरुमा सहभागिताभन्दा बढी संकल्प गर्नुपर्ने एवम् शत प्रतिशत व्यवहारिक रुपमा लागु गर्नु पर्ने आवश्यकता छ ।
यदि हामी साँच्चै आउँदो पुस्तालाई स्वस्थ्य पर्यावरण हस्तान्तरण गर्न चाहन्छौं भने हामीले दृढतापूर्वक प्लाष्टिकको बन्धनबाट बाहिर आउन तथा त्याग गर्नुपर्ने आवश्यकता छ अनि मात्र स्वस्थ पर्यावरण, स्वस्थ पृथ्वी अनि स्वस्थ जनसमुदायको परिकल्पना गर्न सक्छौ । नत्रभने हाम्रा शहरको प्रत्येक चोक गल्लीहरुमा फोहोर प्लाष्टिकका थुप्राबाट पर्यावरण एवम् जनस्वास्थ्यलाई सँधै खतरा भन्दै बसे भो ।