हालै आएको एक अध्ययन प्रतिवेदनलाई उदृत गर्दै सहयोगी थाह खबर अनलाइने छापेको समाचारअनुसार निकट भविश्यमै विश्वका लगभग २८५ प्रजातिका उभयचर, जलचर, घस्रने जन्तु तथा गैडा, हात्ती, बाघ, भालु लगायत जीवजन्तुहरु लोप हुने सूचीमा रहेका छन् । यसको मुख्य कारण हाल विश्वभरि नै तीब्र गतिमा भइरहेको जलवायु परिवर्तनको असरलाई मानिएको छ ।
नेपाली मिडिया :
हुन त यो पंक्तिकारलाई नेपाली मिडियाहरुका बारेमा सँधै लाग्ने गरेको वा भनौं नेपाली मिडियाहरुबारे सँधै खट्कने विषय अथवा प्रश्न गर्न मन लागेको भनेको (नेपाली मिडियाको सन्दर्भमा) जनावरहरु ठूलो हो ? जस्तै गिद्घ, गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, मृग, जरायो, चित्तल, खरमजुर, भगेँरा आदि लोप भएको अनि गाई–गोरु मारेको, गाई–गोरुको मासु खाएको वा गाई–गोरु र बाच्छा–बाच्छी मारेको आरोपमा आदिवासी जनजाति, मुस्लिम तथा दलितहरु पक्राउ परेको, उनीहरु जेल परेको र, उनीहरुले ५० औं हजार नगद जरिवनाना तिरेको लगायतका समाचार, फिचर वा भनौं लेख रचना छाप्नु महत्वपूर्ण र ठूलो विषय हो कि ?
आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, पिछडिएको क्षेत्र, तेस्रो लिंगी, भिन्न क्षमता भएकाहरु लगायतलाई राज्यले समेट्न नसकेको विषयहरु ठूलो हो ? यस विषयमा पनि अब नेपालका बुद्घिजीवी+बौद्घिक भनिने र नेपालका मूलधारका भनिने मिडियाहरुले अब एक क्षण पनि ढिला नगरी बुद्धिविलास गर्नुपर्ने देखिन्छ । जे होस्, अहिलेलाई फेरि पनि पृथ्वीमा रहेका मानव प्रजातिबाहेकका अन्य प्रजातिहरु किन कसरी लोप हुँदैछन् ? भन्ने बोलमै केही लेखौं ।
लोप हुने क्रममा १२ सय प्रजाति :
समाचारमा उल्लेख भएअनुसार साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले आफ्नो अध्ययन प्रतिवेदनको सार संक्षेपको निचोडलाई भनाइको रुपमा राख्दै एएफपीसँग भनेका छन्, ‘रेड लिस्ट’ मूल्यांकनका लागि अध्ययन गरिए अनुसार सम्पूर्ण प्रजाति÷समूहहरुको संरक्षण स्थिति खस्कँदै गएको छ । तिनीहरुको लोप हुने खतरा भयावह ढंगले बढी रहेको छ ।’
उक्त अध्ययन प्रतिवेदनअनुसार १२ सय प्रजातिहरु त सार्क, डल्फिन लगायत जलचर प्रजाति रहेका छन् । ती मध्ये पनि ३७ प्रतिशत जलचरहरु कडा हाड भएकाहरु लोप हुने खतरामा रहेका छन् । स्मरणीय के छ भने, यो तथ्यांक विगतमा (सात वर्षअघि) गरिएको यस्तै अध्ययनको तुलनामा एकतिहाईले भन्दा पनि बढी हो ।
जलवायु परिवर्तन मुख्य कारण :
यसरी पृथ्वीमा रहेका विभिन्न प्रजातिहरु लोप हुनुमा बासस्थानको अभाव, अवैध चोरी सिकार आदि भए तापनि प्रमुख कारण भने पछिल्लोपटक तीब्र गतिमा बढेको जलवायु परिवर्तनको असर नै हो भन्ने भनाइ विषय विज्ञहरुको रहेको देखिन्छ ।
हुन पनि जलबायु परिवर्तन र यसको असरका बारेमा कुरो गर्दा निकट भविष्यमै जलवायु परिवर्तनकै कारण एकएक गरेर हिमाली भेगमा रहेका हिमनदीहरुको पनि अन्त्य हुँदैछ ! भन्ने अध्ययन प्रतिवेदन केही समयअघि सार्वजनिक भएको थियो ।
यो कुरो त्यस्तै, उस्तै मान्छेहरुले पत्याउने कुरो नै होइन । तर, जोे विषय विज्ञ हो, उसले त नपत्याउने कुरै भएन । त्यसैले त जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरुले विगत लामो समयदेखि नै पछिल्लो केही समयदेखि विश्वमा तीब्र गतिमा पैmलिएको जलवायु परिर्वतनको असरका कारणले सुरुमा हिमनदी पग्लने र विस्तारै हिम नदी सुक्ने अनि हिमताल पनि फुटने र सुक्ने एवम् प्रकारले हिमालमा रहेका सेता हिऊँ पनि पग्लेर नांगो डाँडो (काला पहाड-भीर) मा परिणत हुने अनुमान गरेका छन् ।
कालापहाडमा परिणत हुँदै हिमालय :
यसरी विश्वमा तीब्र गतिमा पैmलिएको जलवायु परिर्वतनको असरका कारणले हिमनदी पग्लने र विस्तारै हिम नदी सुक्ने, हिमताल पनि फुटने र सुक्ने एवम् प्रकारले हिमालमा रहेका सेता हिऊँ पनि पग्लेर नांगो डाँडो (काला पहाड-भीर) मा परिणत हुने क्रमलाई रोक्न वा कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद लगायत जलवायु परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्नेहरुले जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा कटौती गर्नुपर्ने सम्बन्धमा धेरै पहिलेदेखि आवाज उठाउँदै आएका छन् ।
त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने स्वच्छ हावाको कमी, वातावरण विनास, बेमौसमा बढ्ने गर्मी र बेमौसमा हुने जाडो, बिना सिजनमा पर्ने पानी, मुसलधारे वर्षा, हिउँद याममा पनि अचानक आउने बाढी, पहिरोले गर्दा हिमाल भन्दा तल वस्ती रहेका मानिसहरुले अचानक र बेमौमा व्यहोर्नुपर्ने प्राकृतिक विपत्तिहरु सहनु परेको छ ।
पिउने पानी अभाव हुने :
यसरी हिमनदी पग्लने क्रमले गर्दा हिमाली र पहाडी क्षेत्र (खास गरी नदी आसपास) मा बसोवास गर्ने मानिसहरुमा पार्ने दीर्घकालीन असरका साथै भविश्यमा कञ्चन, सफा, निर्मल र स्वच्छ पानी खाने (पिउने !) को मुहान नै सुक्ने वा अन्त्य हुने संभावना रहेको देखिन्छ ।
त्यसैले त होला, विषय विज्ञहरु यस्ता बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने ? र यसका रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा बहस र छलफल गरी रहेका छन् । तर, पनि हालसम्म मतैक्य भने हुन सकेको देखिदैन ।
स्वच्छ पिउने पानीको स्रोतहरु नै सुक्ने भनी धेरैअघिदेखि नै चेतावनी दिँदै आएका हुन्, सचेत गराउँदै आएका हुन् ।
हरितगृह ग्यास उत्सर्जन :
त्यसो त जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा विश्वका ठूला (विकसित र औद्योगिक देशहरु) जस्तो कि अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटली, भारत, दक्षिण अफ्रिका, टर्की, भियतनाम, मलेसिया आदि देशहरु नै मुख्य हुन् ।
तर, उनीहरुबीच जलवायु परिवर्तनसम्बन्धी कस्तो नीति अपनाउने ? कस्तो मापदण्ड बनाउने ? भन्ने सम्बन्धमा एक मत नभएकोले धेरै पछिसम्म यसबारेमा गलफत्ती भइरहयो, अझै पनि सो सम्बन्धमा गलफत्ती भइरहेकै अवस्था हो ।
उदाउँदा महाशक्तिहरु :
तर, पछिल्लो समय विश्वका उदाउँदो अर्थतन्त्र भनी चिनिएका देशहरु जस्तै चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया आदि देशले चाहिँ आफूहरु भर्खरै मात्रै उद्योग धन्दा र कलकारखाना चलाउने देशमा दरिएको हुनाले गर्दा र, विकसित देशहरु अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटलीले भन्दा कमै मात्र ‘हरित गृह ग्यास उत्पादन गर्ने हुँदा !’ सजाय, मापदण्ड वा … पनि कमै हुनुपर्ने भन्ने जिरह वा आग्रह रहने गरेको भन्ने भनाइ सुनिन्छ ।
जे भए तापनि अहिलेको अवस्थामा आइपुग्दा विकसित तथा औद्योगिक देशहरुले मात्रै विश्वको ३२–३३ देखि ३६–३७ प्रतिशत पानी र अधिकांश प्राकृतिक सोतसाधन दोहन गर्दै आएका छन् भन्ने विज्ञहरुको लेखाजोखा रहेको छ । त्यस्तै यी औद्योगिक देशहरुले मात्रै विश्वको झण्डै ८१–८२ प्रतिशत वायु प्रदुषणजन्य ग्यास, धुवाँ, फोहर लगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असरचाहिँ नेपाल लगायत कम विकशित तथा अल्पविकशित देशहरुले धेरै नै भोग्नु परेको तीतो सत्यको रुपमा रहेको छ ।
सुक्दैछन् हिमनदी :
हुन त हालै आएको एक समाचार अनुसार विश्वका प्रायः सबै हिमनदीहरु तीब्र गतिमा पग्लिन थालेका छन् । त्यसमा पनि हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङ–घाई आसपासमा बढी नै तीब्र गतिमा हिमनदी पग्लेको देखिएको भन्ने छ ।
केही समयअघि सहयोगी ‘काठमाण्डौ प्रेस’को अनलाइन संस्कणमा संयुक्त राज्य अमेरिकाको ‘टेक्सास ए एन्ड एम विश्वविद्यालय’का अनुसन्धानकर्मीलाई उद्धृत गर्दै लेखेको फिचर लेखमा जनाइएअनुसार अनुमान गरेभन्दा धेरै छिटो हिमनदीहरु पग्लने क्रम बढेको छ ।
निष्कर्ष :
यसरी अनुमान गरेभन्दा छिटो र तीब्र गतिमा हिमनदी पग्लने क्रम बढ्नुमा “पोजिटिभ आइस–लस फिडब्याक” भन्ने वैज्ञानिक प्रक्रिया वा भनौं सिद्धान्तअनुसार हिमनदी पग्लने क्रम बढेको हो भन्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुको भनाइ रहेको छ ।
के पनि भनिन्छ भने, जलवायु परिवर्तनका सम्बन्धमा विकसित देशहरुको अटेरीपन र दादागिरी कायमै रहेमा अबको ५० वर्षमा अरु कुरोहरुका साथै सफा, कञ्चन, स्वच्छ र शुद्ध खाने (जल+पिउने पानी !) पानीको संकट, घरबास संटकका साथै खाद्यान्न संकटको पनि ठूलो समस्या आईपर्ने पक्का छ ।