• मंसिर १२ २०८१, बुधबार

तीज : परदेशबाट घर सम्झने माध्यम

भाद्र २४ २०७८, बिहीबार

बिरानो मुलुक । नजानेको भाषा । नचिनेका मानिस । अपरिचित ठाउँ । धौ–धौ कटेका छन् दिनहरु । कटेका भन्दापनि कटाइएको छ । घरदेशबाट परदेश आएको पनि अब त आधा दशक बित्न थालेछ । घरमा छँदा एकचोटी ठूलै देशमा जान पाए मज्जाले कमाएर आँउथें भन्ने लाग्थ्यो । आइयो, कमाइयो पनि होला तर लगातारको विरामीका कारण कमाइ भन्दा खर्च धेरै भयो ।

कहिलेकाहिँ लेख्न मन लाग्छ । तर कति दुःख मात्रै पोख्नु र समयसित कति गुनासो मात्र पोख्नु भनेर लेखेका कुरा पनि खासै वास्ता गर्दिन । किन कि अब त गुनासो पोख्ने मात्रै भन्दा पनि आफै जिम्मेवार बन्ने समय आएछ क्यारे । ‘पुरानै भएपनि आफ्नै घर प्यारो’ भने झैं धुलोमाटो कै भएपनि आफ्नै घर ठूलो र प्यारो लाग्दोरहेछ । र त सम्झना आइरहन्छ घरिघरी । घरमा छाँदा सानो काम गर्न पनि दुःख मान्ने हामी नेपाली विदेशमा भने जस्तो र जत्रो काम पनि गर्न बाध्य छौं । नेपालीलाई केले यस्तो बनाइरहेको छ खै ? आफ्नो परिवारको माया त विदेश आएपछि बढी नै हुँदोरहेछ भन्ने महसुस भएको छ ।

यी र यस्तै धेरै–धेरै कुराहरु मनमा खेलिरहँदा कहिलेकाहिँ त रातीको १, २ बजेको पत्तै नहुँदो रहेछ । दिनभरी मेसिनकै गतिमा दौडेर काम गर्नुपर्दा थाकेको ज्यान, छुपुक्क निदाउनु पर्ने हो तर कहिले काहिँ निद्रा नै पर्दैन । सायद विदेशमा रहँदाको पीडा र घर परिवारप्रतिको भावनात्मकरुपमा नजिक हुँदा यस्तो हुन्छ होला । बाआमाको गाली समेत सहन नसक्ने हामी आज विदेशी भूमीमा साहुको कामको दवाव र मानसिक यातना नै सहन बानी परेका छौं भन्नु पर्यो, यी सबैको कारणले होला मन एकोहोरिएर आउने ।

सोच्दा–सोच्दा अत्तालिन्छ मन । निद्रै नपरेर यसै बित्छन् कयौं रातहरु । घडिको अलार्मले पो ब्युँझाइदिन्छ कहिलेकाँही त । साहुको भोलिको सम्भावित गाली सम्झँदै सुत्यो अनि विहानै आँखा मिच्दै काममा गयो । यस्तै बितिरहेका छन् आजभोलिका दिनहरु । काम गरिहँदा पनि मन त खालि घरतिरै पुग्दो रहेछ ।

परदेशिएका धेरै नेपालीहरुको पीडाको मुख्य कारण हो, ऋण । यस्ता पीडाबाट हामी कोही पनि अछुतो रहने कुरा थिएन । सम्झँदा वनको होइन मनको बाघले खान्छ । कामको चाप, साहुको दवाव, घरको याद आदीले प्रायः सबै नेपालीको मनमा भयानक भूईंचालो गइदिन्छ । यस्ता परिघटनाहरु सम्झँदा चलचित्र हेरे झैं लाग्दछ । विदेशमा पैसा कमाउन आएका नेपालीहरु कथाहरु हुन् यी ।

विदेशमा कमाइ गर्न आएका नेपालीलाई नेपालीले नै अपमान गरेको देख्दा भने मन धेरै नै पिरिँदो रहेछ । तिनीहरुलाई नेपाली मान्न पनि हाम्रा मनहरु तयार छैनन् । नेपालीले नेपालीलाई माया गर्नु र समस्या पर्दा सहयोग गर्नु पर्ने हो । तर नेपालीलाई दुःख दिन त्यहाँ बस्ने नेपाली तयार भएर बसेको हुँदोरहेछ । कस्तो अचम्म । त्यहाँको मालिकसित लागेर नेपालीले नेपालीलाई नै सताएको देख्दा पो तिनछक परियो । आफ्नै भाईसन्तानलाई सताउने त्यस्ता नेपाली नामका कलंकहरुलाई कहिल्यै भलो हुनेछैन ।

परदेशमा एक नेपालीले अर्को नेपालीलाई दिने पिरलोले धेरै नेपाली मनहरु आज पनि दुःखिरहेका छन् । नेपालीलाई डिप्रेसन हुनुको एउटा कारण नेपालीपनि हुन् । नेपालीहरु आपसमा लडेका नेपालमा मात्रै होकी भनेको त विदेशमा रहेर पनि नेपालीहरु आपसमा लडिरहेका छन् । यसो भन्न सकिन्छ, कि हिजो विदेशी दुश्मनसित लडेका हाम्रा पुर्खाका सन्तान आज आफ्नैसित लडिरहेका छन् । त्यो पनि पैसाका लागि । हिजो स्वाभिमानको परिचय बनाएका धेरै नेपाली आज दलाल बनेर नेपालीलाई नै सताइरहेका छन् ।

हामीले देखेका र भोगेका यी र यस्ता घटनाहरु आज भोली मिडियामा पनि प्रशस्तै देख्न र सुन्न पाइन्छ । नेपालीहरुका लागि यी निकै लाजमर्दा विषय हुन् । खासमा परदेश भनेको छोटो समयका लागि हो । जीवनको धेरै समय त स्वदेशमै बिताउने हो । तर स्वदेश कहिल्यै नफर्कुंला झैं गरि नेपालीले नेपालीलाई सताउने कुराले त्यस्तालाई कहिल्यै भलो हुनेछैन । केही प्रगति गरौं भनेर नै मानिसहरु परदेशिएका हुन्छन् । विदेश गएर केही कमाएर नेपाल मै आइ केही व्यवसाय वा कुनै पेशा गरौं भन्ने नेपाली पनि धेरै छन् । परदेशको यही यात्रामा नै धेरै नेपालीसित धेरै नेपालीको भेट हुने हो । समस्या पर्दा नेपालीले नेपालीलाई सहयोग पनि गर्दछन् । त्यसमा सबै खराब पनि छैनन् ।

अँ, कहिलेकाँही घरबाट आउने फोनले पनि नेपालीलाई झस्काइदिन्छ । लाग्छ, कोही केही भए कि, ठूलै समस्या पर्यो कि ? यसरी नै झस्किदिन्छ मन । कमाउन आएका हामी जस्ताबाट परिवारले प्रगतिको आशा गर्नु स्वभाविकै हो तर भनेजति सहयोग गर्न सकिएको छैन । भनेजति गर्न नसकेपछि भएजतिमा मन बुझाउन पर्ने बाध्यतापनि छन् । पर्ख, होला खाम्ला, लाम्ला भनेर मन शान्त पार्ने माध्यम खोज्नु पर्ने अवस्था रहेको छ ।

उता चाडपर्वहरु आउँदा यता मन खिन्न हुन्छ । किन कि घरमा छँदा टाढा रहेका आफन्तलाई भेट गराउने माध्यम बन्छन्, चाडपर्वहरु । तर आफू नै नौडाँडा पारी भएपछि कस्को मन कसरी बुझाउने र ?

अँ… आज तीज हो । सानो छँदा गाउँमा आजको दिन धेरै रमाइलो गरिन्थ्यो । फराक लाउने बेलादेखिको त्यो रहर साडी लाउने बेलासम्म पनि उस्तै छ । चाडपर्व भनेपछि मिठो खाने र राम्रो लाउने दिन हो भनेर सानैदेखि सिकाइयो । हो पनि । मान्छेले यसरी धेरैवर्ष अघिदेखि गर्दै आएका यी कार्यहरु नै संस्कृति हुन् । तर आज यी मौलिक संस्कृतिहरुलाई विकृत बनाउने होडले नेपालीको मौलिक अस्तित्व मासिन्छ की भन्ने चिन्ता पनि लाग्छ । किन कि हरेक मानवजातिको पहिचान संस्कृतिसित जोडिएर आएको छ ।

संस्कृति मासिए मानवजातिको परिचय पनि त मासिन्छ । त्यसैले सन्दर्भ तीजको छ तर बहसको आवश्यकता पुरै संस्कारका बारेमा हुन जरुरी छ । यसपालीको तीजपनि घर परिवार सम्झने माध्यम बन्यो । घरको सम्झना त सधै आइरहन्छ तर चाडपर्वहरु पनि घर सम्झने माध्यम बनेर आएका छन् । यसपाली पनि कोरोना सर्ने जोखिमका कारण उहिले जसरी नाचगान गर्ने अवस्था पनि छैन ।

मानिसको दैनिक जीवन सुचारुरुपले चलरिहेको अवस्थामा जति चाडहरु रमाइला हुन्छन् तर रोगव्याधीले दुनियाँलाई सताइरहेका बेला हामीलाई मात्र कसरी तीज आवस् । त्यसकारण पहिलो कुरा बाँच्नु हो । रोगव्याधीबाट आज बाँचे चाडपर्व त भोलि मनाउन पाइहालिन्छ । परदेशबाट सबै नेपाली दिदीबहिनीहरुलाई २०७८ को तीजको शुभकामना ।
हालः दक्षिण कोरिया ।