• मंसिर ११ २०८१, मंगलवार

हाम्रो आनीबानी र लादिएको सिसडोल

भाद्र २३ २०७८, बुधबार

भनिन्छ, संस्कार बनाउने कुरा हो, आफै निर्माण भएर आएको होइन । यसको अर्थ हो, संस्कार मानिसले बनाएको हो, प्रकृति प्रदत्त होइन ।

तर हामी नेपालीको संस्कार परिवर्तन भएन । आनीबानी त झन् ‘नानीदेखि लागेको बानी’ भन्ने नै भयो कहिल्यै परिवर्तन भएन । यसको सिकार आज हामी नेपाली नै भैरहेका छौं ।

काठमाडौंका गल्लीगल्लीमा फोहरको डंगुर लागेको छ । उसै त बर्खाको पानी, त्यसमा पनि फोहरको थुप्रो, महिनौदेखिको । यो फोहर अहिले महानगरपालिकाले उठाउन छाडेको छ ।

त्यसको कारण हो सिसडोलवासीले अब महानगरको फोहर थेग्न नसक्ने अवस्था सिर्जना भएको भनी फोहर लैजान अबरोध खडा गर्नु । सिसडोलवासीहरु अब काठमाडौंको फोहर व्यवस्थापनको पारा देखेर अवाक भएका छन् ।

सबै कुराको सीमा हुन्छ । लच्किने र तानिने रबर पनि सीमाभन्दा बाहिर तानियो भने छिनिन्छ । सिसडोलवासीसँग फोहर फाल्ने संझौता गरेको थियो काठमाडौंले केवल तीन वर्षका लागि । तर काठमाडौं उपत्यकाको फोहोर बोकेर गाडीहरु नुवाकोटको ओखरपौवास्थित सिसडोलमा लगातार १६ वर्षसम्म कुदिरहे ।

सहनु पनि कति ? त्यहाँ अहिले ४०० मिटर अग्लो फोहोरको पहाड बनिसकेको छ । त्यो फोहरको पहाडमाथि उल्टै सडक बनाइएको छ । त्यही सडक भासिने डरले यो नियमित झरीमा फोहोर बोकेर गएका ट्रकहरु त्यहाँ पुग्न सकिरहेका छैनन् ।

सामान्य अवस्थामा दैनिक १५० वटा ट्रक पुग्ने फोहरको साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरिरहेका छन् । त्यसैले पनि काठमाडौंको फोहर समयमै उठ्न सकिरहेको छैन । अर्कोतिर यसको विकल्पको खोजी पनि गरिएको छैन ।