काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका सांसदहरू उपस्थित भए सदन चल्न नदिने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने ‘हामीले कारबाही गरिसकेको १४ सांसद बैठकमा उपस्थित भए हामी संसद् चल्न दिँदैनौँ। एमालेकै कार्यकर्ता हौं भनेर पार्टी विभाजन गर्ने, पार्टीकै सदस्य नभएको व्यक्तिले कसरी संसदीय दल र पार्टी विभाजन गर्छ? उहाँहरूलाई हामीले कारबाही गरिसकेको छौँ।’
उनले आफूहरुले निष्कासन गरेका व्यक्तिहरु पनि सदनमा आउने भए माओवादी केन्द्रले निस्कासन गरेका सांसदहरुलाई पनि ल्याएर सदन चलाउन आग्रह गरे।
‘पहिले निकालिएकाहरु अहिले हाजिर गर्नुपर्यो। रामबहादुर थापा राष्ट्रिय सभामा हाजिर गर्नुपर्यो। प्रतिनिधि सभामा टोबहादुर रायमाझी हाजिर गर्नुपर्यो, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साह उहाँहरुलाई पहिले हाजिर गर्नुपर्यो। उहाँहरु पहिले निष्कासित हुनुभएको थियो। उहाँहरुलाई हाजिर गरेर एउटा बैठक चलाऔँ, अर्को बैठकमा विचार गरौंला।’उनले भने