• मंसिर ११ २०८१, मंगलवार

किन निरन्तरता पाइरहेका छन् खोलागाउँका सामूहिक हत्याकाण्डहरुले ?

भाद्र २३ २०७८, बुधबार

काठमाडौं । संखुवासभाको मादी–१ उम्लिङ गाउँस्थित रहेको खोला गाउँमा एकाघर परिवारका ६ जनाको विभत्स हत्या भयो रातको समयमा । यो आततायी घटनाले सबैको आङ सिरिङ्ग बनाएको छ । यस अघि पाँचथरमा घट्न पुगेको घटनालाई यसले झलझल्ती स्मरण गराएको छ ।

संखुवासभा खोलागाउँको घटनामा ८४ वर्षीया पार्वता कार्की, उनका छोरा ५८ वर्षका तेजबहादुर कार्की, उनकी श्रीमती ५६ वर्षकी मनमाया, बुहारी २८ वर्षकी रञ्जना, उनका छोराछोरी (१० वर्षका विपीन र ५ वर्षकी गोमा) कार्कीको हत्या गरिएको छ । उनीहरुको शव बारी, खोला र सडकको भित्तामा फालिएको अवस्थामा फेला परेको छ ।

खोलागाउँमा घटना भएलगत्तै स्थानीय जनताबाहेक प्रहरी बेलैमा पुग्न केही ढिलाइ भएको छ । घटनास्थलमा केही सेकेण्ड वा मिनेटको ढिलाइले पनि प्रमाण लोप हुनसक्छ । अर्कोतिर वर्षाको समय । अनुसन्धानका लागि प्रहरी पुग्दा निकै समय लागेको देखिन्छ ।

घटनामा संलग्नहरुको खोजीका लागि तालिम प्राप्त कुकुर लगिएकाले खोजीमा तदारुकता आउँछ भन्ने जनसाधरणलाई लागेको थियो । तर वर्षादका कारण अनुसन्धानको यो विधि त्यति कामयाव हुन सकेन । घटनास्थलबाट मृतकहरुको शवको पोस्टमार्टम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको छ ।

घटनास्थलबाट एक मोबाइल, १५ तोला सुन र तीन लाख रुपैँया फेला पर्नुले घटनालाई अर्कै मोड दिएको छ । आखिर बंश नाश हुने गरी हत्याकाण्ड किन भयो ? पैसा र सुन त घटनास्थलमै भेटिएको छ । पैसाका लागि भएको थिएन यो घटना ?

गाउँलेका अनुसार केही दिन पहिले उक्त परिवारमा जग्गा किन्ने कुराकानी भैरहेको थियो । यसको सिधा अर्थ लाग्छ, उनीहरुले पैसाको जोहो गरेका छन्, वा नगद उनीहरुसँग छ । यदि नगद छिन्नकै लागि हत्या गरिएको हो भने पनि नगद र सुन घटनास्थलमा भेटिएको छ ।

केका लागि यति बर्बर आतंक सिर्जना गरिएको होला ? घटना प्रकृति हेर्दा नजिकका मानिसले घटाएको झैं देखिन्छ । रिसइबी साँधिएकोमा बंश नाश हुने गरी घटना घट्ने पनि विश्वास गर्न सकिदैन । अपुताली सम्पत्ति खानका लागि घटना रचिएको हो भने सोही घरका दुईजना युवाहरु विदेशमा छन् ।

रहस्य खुल्न बाँकी रहेपनि प्रहरीको खोज तथा अनुसन्धान जारी छ । झरीवर्षाका कारण क्लु, संकेत तथा पदचिन्ह, पसिना र औलाका छाप भेटिने संभावना निकै कम छ । हरेक घटना छानबिनको आधार घटनास्थल प्रकृति मुचुल्का हुने भएकाले यसलाई आधार मानेर नै प्रहरी अनुसन्धान सुरु हुन्छ ।

गम्भीर प्रकृतिको अपराध र कमजोर घटनास्थल मुचुल्का हुन गयो भने अनुसन्धान कार्य निकै अप्ठेरो हुन जान्छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष टोली यसको छाविनमा लागेपछि घटनाको सत्यतथ्य खुल्नेमा सबै आशावादी भएका देखिन्छन् । तर कतिपय अवस्थामा स्थानीय अनुसन्धान र केन्द्रीय अनुसन्धानका बीचमा आपसी टक्कर र हस्तक्षेप देखिदा खोज अनुसन्धानमा ढिलाइ भएको पनि देखिन्छ ।

यतिबेला जनसाधरणको प्रश्न भने यस्ता घटना किन घटिरहन्छन् भन्नेमा बढी केन्द्रित छ । यसका लागि राज्यको सुरक्षाको प्रबन्ध कमजाोर हुनु र आपराधिक प्रवृत्तिले फष्टाउने मौका पाउनुलाई लिन सकिन्छ । किन सरकारी सुरक्षाको पहुँच छैन त दूरदराजका गाउँघरमा ? अहिले सुरक्षा चिन्ताको विषय गम्भीर बनेर आएको छ ।

समाजमा मानिस सापेक्ष चेतनशील बन्दै पनि गैरहेका छन् । परस्पर सामाजिक अन्तरघुलन र सहकार्य पनि बढेर गैरहेको छ । बाटोघाटो र बिजुली तथा सरकारी सेवाको प्राप्तिका कारणले पनि मानिस एकअर्काको समीपमा छन् । सबैका हातहातमा मोबाइल छन् । सूचना सम्पर्कमा सबै छन् ।

के राजधानी, के जिल्ला सदरमुकाम वा स्थानीय गाउँहरु, सबैको सबैसँग सूचना सम्पर्क छ । प्रायः सबै ठाउँमा हरेक व्यक्तिको संपर्क, सम्बन्ध र सूचनाको पहुँच छ । तर त्यही सूचना रातदिन जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग किन जोडिन सकेको छैन ? यसमा कमजोरी जनताको हो कि राज्यसत्ता र यस मातहत रहेका सुरक्षा अंगहरुको ? यस बारेमा सुरक्षा निकाय गम्भीर हुनै पर्छ ।

जनता वा समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको मूल्याङ्कन जरुरी हुन गएको छ । कुनै पनि प्रहरी बिट, चौकी वा प्रहरी कार्यालयको सुरक्षा घेराभित्र रहेका जनताको प्रत्येक घरमा उक्त पोस्टको सम्पर्क नम्बर दिइएको छ कि छैन ? वा प्रहरीले कल सेन्टर स्थापना गरेर सूचना लिने गरिरहेको छ कि छैन ?

पछिल्लो चरणमा विज्ञान तथा प्रविधिको विकाससँगै राज्यको सुरक्षा निकाय जनताका माझमा अपडेट हुनै पर्छ । घटना त्यत्तिकै त घटेको छैन होला । दुस्मनी बढ्दै जाँदा हाँकाहाँक भएको होला, टेलिफोन वार्ता वा झगडा भएको होला । आफन्तकहाँ कतै केही सुराक वा संकेत पुगेको होला । तर त्यो सुराक र संकेत सुरक्षा निकायकहाँ किन पुग्दैन ? किन विश्वास गरिदैन प्रहरी निकायलाई ? राज्य यसबारेमा गम्भीर हुनै पर्छ ।

समय फेरिसकेको छ । प्रहरी प्रशासनले फेरिइरहेको समाजको गति र लयसँग मेल खाने गरी आफ्ना गतिविधिमा परिमार्जन, विकास र नयाँपन ल्याउनै पर्छ । होइन भने अपराध रोक्नु र नियन्त्रण गर्नुभन्दा पनि अपराध अघि अघि, प्रहरी र उनीहरुको खोजअनुसन्धान पछिपछि भैरहनेमा शंका छैन ।