• फाल्गुन २८ २०८२, बिहीबार

एमसीसी खारेज गर्नुपर्ने वक्ताहरुको जोड (तस्बिरहरु)

भाद्र २२ २०७८, मंगलवार

काठमाडौँ। राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग नियोग एमसीसी नेपालबाट खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागले काठमाडौँको संवाद डबलीमा आयोजना गरेको ‘राष्ट्रघाती एमसीसी सम्झौता र यसको खारेजीको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन्।

नेता सिपि गजुरेल

कार्यक्रममा बोल्दै नेपालको कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता,देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष चन्द्र प्रकाश गजुरेलले नेपालका युरेनियम लगायत बहुमूल्य प्राकृतिक स्रोत साधनहरुमा कब्जा गर्न एमसीसीको वहानामा अमेरिका नेपालमा पस्न खोजेको धारणा व्यक्त गरे। अमेरिका एमसीसी सम्झौता गरेर नेपाल पसेपछि चीनलाई घेर्ने रणनीति बनाउन सो सम्झौता नेपालको संसदबाट पारित गराउन खोजेको धारणा व्यक्त गरेका थिए। नेता गजुरेलले सो एमसीसी नेपाल र नेपालीको हितमा नभएको भन्दै त्यसलाई खारेज गर्न सबै नेपाली जनता एक हुनुपर्ने बताए।

महासचिव सिपि मैनाली

कार्यक्रममा नेकपा मालेका महासचिव चन्द्र प्रकाश मैनालीले अमेरिकाले विश्वमा आफ्नो घटेको प्रभाव र प्रतिष्ठा जोगाउन एमसीसी अगाडी सारेको धारणा व्यक्त गरे। महासचिव मैनालीले भारतमा इष्ट इन्डिया कम्पनीले पुरै भारत कब्जा गरेजस्तै नेपाल कब्जा गर्न अमेरिकाले एमसीसी ल्याएको बताए। महासचिव मैनालीले अमेरिकाले नेपालीभूमिमा सैन्य अखडा बनाएर चीनविरुद्ध गतिविधि गर्न एमसीसी जबरजजस्ती संसदबाट पारित गराउन चाहेको बताए । उनले सरकारले एमसीसी संसदवाट पारित गराउन लागेको भन्दै खारेज गर्नुपर्ने बताए ।

नेता लिलामणि पोखरेल

कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपालको कानुनभन्दा एमसीसी माथि राखिएको र एमसीसी लागु भए नेपालीहरुले अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउने भएकाले खारेज हुनुपर्ने बताए । उनले अनुदानमा शर्त नहुने भएपनि एमसीसीमा अमेरिकाले नेपालको हित विरोधी शर्त राखिएको भन्दै खारेज गर्नुपर्ने बताए । संसदमा पारित गराए कानुन बन्ने र त्यो नेपालको कानुनभन्दा माथि हुने भन्दै पोखरेलले एमसीसीलाई खारेज गर्नुपर्ने बताए । उनले तत्कालिन (नेकपा) ले एमसीसीको अध्ययन प्रतिवेदनमा संशोधन गर्न सुझाव दिएको भएपनि अमेरिका तयार नभएको समेत बताए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला अमेरिकाले नेपालीभूमि प्रयोग गरेर चीनविरुद्ध घेराउ गर्न एमसीसी जसरी पनि लागु गर्न चाहेको बताए । उनले एमसीसी लागु भए अमेरिका र चीनबीच बढ्ने द्वन्द्वको मार नेपाल र नेपालीलाई हुने बताए । नेपालका प्राकृतिक साधन र स्रोतमाथि कब्जा गर्ने र आफ्नो सैन्य रणनीतिमा नेपालमा सहभागी गराउने अमेरिकी योजना रहेको बताए । उनले सम्झौता राष्ट्रघाती भएको बताउँदै त्यसविरुद्ध आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताए । एमसीसी खारेजीको लागि संघर्षमा आउन सबैलाई बास्तालाले अपील समेत गरे ।

पुर्व जर्नेल प्रेमसिंह बस्न्यात

नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताए । उनले एमसीसी संसदबाट पारित गरेर देशलाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको भन्दै युवाहरु त्यसविरुद्ध उठ्नुपर्ने बताए । दार्चुलाका युवा जय सिंह धामीलाई तुइनबाट खसालेर महाकालीमा बगाउदा बोल्न नसक्ने जर्नेल र एमसीसीजस्तो राष्ट्रघाती परियोजना पास हुँदा ताली बजाउने विद्यावारिधीवाला डाक्टरप्रति घृणा लाग्ने गरेको बताए । परिर्तनको लागि जनयुद्ध लड्दा टाउकाको मूल्य तोकिएका नेताहरु अहिले विदेशीको दलाल भएकै कारण जनताले दुःख पाएको बस्न्यातले बताए ।

वाम विशेषज्ञ डा.सुरेन्द्र के सी

राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले राष्ट्रियतामा प्रतिवद्ध र प्रतिरक्षात्मक शक्ति भनेको कम्युनिस्ट भएको तर अहिले नेपालका केही कम्युनिस्ट पार्टीहरु एमसीसी पारित गराउन लागि परेको बताए । उनले कम्युनिस्टहरु बिग्रिएकैले देश र जनताले दुःख पाएको बताए ।
नेपाल एउटा पञ्चशील सिद्धान्त मान्ने स्वतन्त्र देश भएकोले अमेरिकी सैन्य रणनीतिअनुसार अगाडि ल्याइएको एमसीसी सम्झौता लागु गर्न नहुने केसीले बताए । उनले अमेरिकाले सैन्य अखडा बनाएर चीनविरुद्ध नेपाल र नेपाली जनतालाई दुरुपयोग गर्न लागेको समेत बताए । एमसीसीले कायापलट हुने जसरी प्रचार गरिएको भन्दै नेपालमा आवश्यकता ५० करोड डलर नेपाली जनता आफैले लगानी गर्न सक्ने बताए ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष हिमलाल पुरीले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएकोले खारेज गर्नुको विकल्प नभएको बताए । उनले एमसीसीलाई संसदबाट पास गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सडकमा आउन अपील समेत गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि राखिनु नै गलत भएको बताए । उनले अनुदानबाट लागु हुने परियोजना संसदबाट पास गर्न आवश्यक नहुने बताए । अमेरिकी कानुन नेपालमा लागु गर्न खोजिएको भन्दै भण्डारीले एमसीसी सम्झौता देशको हितमा नभएकोले खारेज गर्नुपर्ने धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरु

त्यसैगरी कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य धनकुमारी सुनार, एमसीसी खारेज संघर्ष समितिका केन्द्रीय सदस्य भरत गौतमलगायतले एमसीसी देशको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताए ।

हेरौं थप तस्बिरहरु⇓