• असार २५ २०८१, सोमबार

बोल्दा पनि अर्कैको सहारा चाहिने जनयुद्धका घाइते चौधरी

भाद्र २२ २०७८, मंगलवार

घोराही। अड्की अड्की शब्द निकाले । बोलि फुट्दा केशव चौधरीको पूरै टाउको हल्लिन्थ्यो । आँखा तङ्ग्रिन्थे र अनुहार बाउँडिन्थ्यो । यसरी बोल्नु न बचपनको आदत हो न त जन्मजात ल्याएको स्वभाव शैली नै । जनयुद्धको क्रममा घाइते हुँदा त्यसले पारेको असरका कारण सजिलै बोल्न सक्दैनन् उनी ।

उनी बोलिरहँदा गत मंगलबार घोराहीमा भएको जिल्ला स्तरीय सम्वाद कार्यक्रमका सहभागीले लवजमा ध्यान केन्द्रित गरे । ढिलो निस्कने चोटिला शब्दले करीब दुईदर्जन बढि मानिसलाई चामचिम्मै बनायो ।

‘नेताको लागि लडेँ’ घाइते योद्धा केशवले भने , ‘बोल्नै नसक्ने भएको छु ।’ उनले देश र जनताका लागि लडेँ भन्ने आँट देखाएनन् । बरु रगत बगाएको हिनता पोखे । त्यसरी जनयुद्धमा सामेल भएर अङ्गभङ्ग हुनुले उनलाई पछुतो बनाएको छ ।

उनी नेपाली सेनामा कार्यरत थिए । भाडाका सिपाही हुनुभन्दा जनताको सच्चा पहरेदार बन्नु उपयुक्त भन्दै केशवले तत्कालीन शाही नेपाली सेनाको जागीर छाडे । जनमुक्ति सेना बनेर माओवादीमा लागे ।

त्यसैक्रममा घाइते भए । अहिलेसम्म पनि अखोजा हुनुहुन्छ । उनका अनुसार टाउकोमा अहिले पनि ग्रिनेडका कप्टेरा बाँकी छन् । उपचार पूरा भएको छैन । त्यसले गर्दा खान बोल्न अप्ठेरो बनाउँछ । उपचार गरिहालौ भने पनि पर्याप्त रकम छैन ।

अरु सबै एक्लाएक्लै सहभागी थिए । उनी चौधरी सानी छोरीसहित आएका थिए । अहिले उच्च तहमा पुगेका माओवादी नेताहरु छोरा छोरीलाई स्वकीय सचिव बनाएर हिँडाल्ने कुरा सामान्य मानिन्छ ।

तर केशवकी छोरी सुजाता छेउमै बसिन् । तर तलव खाने स्वकीय सचिव भने होइनन् । उनले बाउको मुखमा टुलुटुलु हेर्छिन र भाव पढ्ने चेष्टा गर्छिन् ।

जसै बाबु केशव चौधरी बोल्ने पर्यत्न गर्छन् , ती शब्द अरुले सुन्ने गरी छोरीले अभिव्यक्त गर्नुपर्छ । त्यसैले घोराही १७ गैहागाउँ निवासी केशव छोरी लिएर कार्यक्रममा जान्छन् । बोल्दा भक्भकिदै अखट्टिएपछि छोरीले सहायता गर्छिन् ।

उनी रुकुमको खारा लगायत विभिन्न मोर्चामा लड्दालड्दै घाइते भएका उनी निकट प्रकाश चौधरी बताउँछन् । सेक्सन कमाण्डर केशवका श्रीमती र दुई छोरा छोरी छन् । अहिलेको व्यवस्था जनयुद्धका सहिद र घाइतेका रगतको उपलब्धी हो भन्ने नबुझ्दा ग्लानी महशुस भएको केशबले बताए ।

उनका अनुसार नयाँ व्यवस्थामा भोग विलास गर्नेहरुले सम्मान नगर्नु बिडम्बना हो । त्यसबेला रगत बगाउन आदेश दिने कमाण्डरले बिर्सिएका छन् । भेट्दा समेत गुनासो पोख्ला भन्ने डरले छलिएर हिँड्न खोजेकाले चिन्तित बनाएको उनले बताए ।

आफ्नै नेता, कमाण्डर र सहयोद्धाले घाइतेलाई झिजोपिरलो मान्ने अवस्था छ । परिवर्तनका लागि रगत बगाउनेको सम्मान भएन । उपचार तथा जीवन गुजाराको उपाय दिइएन । परिचय पत्र समेत नहुँदा जनयुद्धका घाइते हुँ भन्ने प्रमाण पनि छैन ।