• कार्तिक ५ २०८१, सोमबार

नेपाली समाजमा व्याप्त तीन भेद : लिङ्गभेद, छुवाछुत र जातिभेद

भाद्र २२ २०७८, मंगलवार

नेपालमा हामी तीन थरीका बासिन्दा छौं । अनादिवासी, आदिवासी र आप्रवासी । अनादिवासी भनेका पहाडका ब्राह्मण, क्षेत्री, केही नेवारहरु र कामी, दमाई, सार्की र तराईका झा लगायतका अनेकौं थरका ब्राह्मणहरु हुन् ।

आदिवासी भनेका नेवार, मगर, गुरुङ, तामाङ, लिम्बु, राई, चौधरी, राजवंशी, यादव, ठाकुर, तेली आदि हुन् भने आप्रवासी भनेका मुसलमान, बंगाली, माडवारी र भारतबाट छिरेर आई नेपाली नागरिकता लिएका मधेसीहरु हुन् ।

हामी तीनथरीका बासिन्दाका बीचमा आपसी मेलमिलाप, सद्भाव र अनेकतामा एकता कायम राखेर लिङ्गभेद, जातीयता, छुवाछुतबाट मुक्त रहेर मात्र नेपाललाई समृद्ध गराउन सकिन्छ ।

हिमवतखण्डका कैयौं हिन्दु राज्यहरुमध्ये लगभग ५४ हिन्दू राज्यहरुलाई एकीकृत भएर पृथ्वीनारायण शाहको नेतृत्वमा कैयौं ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, कामी, दमाई, सार्की अनेकौं जात जातिहरुको प्रयासमा पृथ्वीनारायण शाहको पालादेखि स्थापित हुन सकेको नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य हो ।

पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाह, अमर सिंह थापा, वीरदलभद्र लगायत अनेकौं सपुतहरुको अथक प्रयत्नबाट विशाल नेपालको एकीकरण भएपछि पृथ्वीनारायण शाहबाट सामाजिक कानून तर्जमा गरेका थिए ।

पृथ्वीनारायण शाहका पालादेखि चल्दै आएका नियम, कानून तथा परम्परालाई लिपिवद्धरुपमा परिमार्जन रुपमा जङ्गबहादुरको पालादेखि विक्रम सम्वत् २०१० सालदेखि नेपाली समाजले पाएको थियो ।

विक्रम सम्बत् २०१० सालको मुलुकी ऐनलाई पूर्ण सुधार र संशोधन गरेर राजा महेन्द्रबाट २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणागर्दै लिङ्गभेद, जातभात तथा अमानवीय छुवाछुत प्रथाबाट नेपाली जनता बीचमा रहिआएको भेदभाव हटाउन नेपालका दलीत जातिमा ठूलो परिवर्तन ल्याउने काम भएको थियो ।

राजा महेन्द्रको देनको कारणले नेपालभित्रका दलितहरुलाई सामाजिक अन्यायबाट उन्मुक्ति पाएको महसुस गरेका थिए । २०२० सालको मुलुकी ऐनकै प्रभावले हामीहरु मंत्रिपरिषद्, संसद, सरकारी कार्यालयहरु, संस्थान तथा उद्योगहरु, सभासम्मेलन, शिक्षण संस्था र पठन–पाठन्, होटल, ल्कव, सामाजिक संस्थाहरुमा छुवाछुत छैन ।

सँघै एउटै टेवल वा चौपारीमा बसेर खानपिन गर्न सकिने परिस्थिति सिर्जियो । यद्यपि ऐन कानूनहरुले छुवाछुत प्रथालाई बन्देज गरेको भएता पनि अझै ग्रामीण जगतमा अझै यसको तुस कायमै छ ।

वास्तवमा दलितहरुमध्ये कामी, दमाई, सार्की आदि दलितहरु नैं एक अर्काले छुएको खाँदैनन् । यसले गर्दा छुवाछुत प्रथालाई हटाउन दलीतहरुमा पनि अप्ठयारो भइरहेको छ । कतिपय दलित नेताहरु संसद, मन्क्रीमण्डल र आयोगहरुमा नियुत्त भए तापनि उनीहरुको कारणले छुवाछुप्रथामा खास प्रभाव परेको छैन ।

कतिपय दलितहरुले छुवाछुतलाई मागिखाने भाँडो बनाएर कोही सांसद भए, कोही मन्त्री बनेर मालामाल बने । तर एक इमान्दार प्रशिक्षित दलितहरु कतैबाट प्रोत्साहित भइनन् ।

स्मरणीय छ कि गाउँ नगरहरुमा छुवाछुत प्रथाले यस्तो रोगको रुपमा जरो गाडेको छ कि यसलाई उन्मुलन गर्न सानोतिनो प्रयत्नबाट संभव छैन । यसबाट नेपाली समाजलाई मुक्त गराउन समर्पित व्यक्तित्वहरुलाई राज्यले देशब्यापीरुपमा अभियानको रुपमा परिचालित गराउन सक्नुपर्दछ ।

हाम्रो समाज कसरी छुवाछुत प्रथामा कतिसम्म रुडिग्रस्त छ भने अध्यावधि डोटीका गाउँहरुमा दलितले दुध खाइदिए भने गाईभैंसीको थुनबाट रगत आउन सक्छ भन्ने भ्रम छ । डोटीका बासिन्दाहरु दलीतले दुध छाइदिन्छन् भनेर दुध नैं बिक्रि गर्दैनन् ।

गाउँका बासिन्दाहरु पाउडर दुध हालेर चिया खान्छन् तर चिया पसलमा दुध भेटिदैन । बझाङ, बाजुरा घुम्दा पनि त्यस्तै रुढिवादले ग्रसित गरेको पाइयो । यो यस्तो रागको रुपमा देखा परेको छ कि अझै यही स्थिति रहिरह्यो भने छुवाछुत प्रथामा कुनै सुधार आउने संभावना छैन ।

त्यस्तै अर्को घटना मलाई ८/१० वर्ष अगाडि मुगु जिल्लाको होग्लु गाउँका जग्गीप्रसाद उपाध्यायलाई माओवादी कार्यकर्ताले अछुतले छोएको पानी जबरजस्ती खुवाएपछि कर्णाली नदीमा हाम फालेर आत्महत्या गरे । उनी मरेको १८ दिनपछि मुक्तिको लागि वेदको पुस्तक घाँटीमा बाँधेको अवस्थामा उनको मृत शरीर भेटिएको थियो ।

यस्तै केही वर्ष अगाडि धनकुटा बजारमा राममायाँ विश्वकर्माले भैंसीको दुध बेचेर जीवितान् गर्न बैंकको ऋण लिएर दुधालु भैसी किनेर ल्याइन् । तर अछुत भनेर भैंसीको दुध कसैले किनेन । एकपटक २०२२/२३ सालतिर म ताप्लेजुङ्गमा नैं रहेका बेला त्यहाँको गाउँको देबीथानमा बोका पूजा गरेको प्रसाद छोयो भनेर एक विश्वकर्मालाई पिटेर पाठाको मासु सबै उसैलाई जिम्मा लगाइयो ।

२०४४ सालतिर झापामा विधायकको हैसियतले साथीहरुको छुवाछुतप्रथा निस्तेज बनाउन दलीतहरु बीच सहभोजको आयोजना गरियो । जसमा लोकबन्धू कार्की, गणेशबहादुर ढुङ्गाना लगायत हामी धरैको जमात थियो । त्यस कार्यक्रममा विश्वकर्मा, परियार, मिजार आदि थर नलेख्ने र त्यसको सट्टामा आफ्ना पूर्खाको थर लेख्ने प्रस्ताव ल्याइयो ।

त्यसपछि कसैले कोइराला, घिमिरे, गौतम, पौडेल थर लेखेता पनि दलितको नामबाट राजनीतिक फाइदा लिनेहरुलाई चित्त नबुझेकाले भित्रभित्रै विरोध समेत उठाइएछ । यस कुराले सामाजिक उन्मुक्तिको लागि एउटा उपलब्धि गर्न सक्छ ।

तर दलितको कोटा बाहुन क्षेत्रीहरुले खाइदिन्छन् भन्ने भ्रम पनि त्यहाँका विपक्षले उठाएछन् । त्यो पछि थाहा पाइयो । मैले सुनेसम्म रमेश काइरालाले रमेश विश्वकर्मा र यदू गौतमले यदू दमाईं लेख्न थालेको कुरा पनि यही होला ।

त्यस्तै २०० बर्ष अगाडितिर काठमाडौंमा अहिलेको टुँडिखेल दक्षिणतर्फ जगन्नाथ मंन्दिरको निर्माण गरी उद्घाटन गर्ने शिलशिलामा रणबहादुर शाहले ब्रम्हण, क्षेत्री, नेवार, तामाङ, गुरुङ, किराती,कामी, दमाई सार्की, कसुले आदि जातजातिको अनिवार्य सहभोज गराएर एक नेपाली जाति बनाउने प्रयत्न गर्दा कट्टरवादी बाहुनहरुले ‘राजा बहुलायो’ भन्ने होहल्ला पिटे ।

यसरी जमानादेखि जकडिएको रुढिग्रस्त समाजलाई प।िरवर्तन गर्न सजिलो छैन । कतै न कतैबाट बिरोध भइहाल्छ । फलतः कसैले चाहँदैमा ब्याप्त रुढिवादलाई सजिलै समाप्त गर्न सकिदैन । छुवाछुत कस्तो खतरनाक रहेछ भने हातनाता करणीको बात लाग्नु अर्कै कुरा हो ।
तर कसैले बुहारी, भतिजी वा भान्जीलाई बिवाह गरेर भित्र्यायो भने त्यसले छोएको खाने कि नखाने ? खाने हो भने भोलिका दिनमा ए, बुहारी लाने, वा भान्जी लानेका संतान भन्ने लान्छना लाग्छ नैं ।

अतः १) युद्धबन्दी, २) राज्यले जात झारेका र ३) हाडनाता करणीको मामिलाबाट समाज बहिस्कार हुनपुगेकाबाट उब्जेका समस्याको कारणले छुवाछुत प्रथाले संस्कारको रुप लिनपुगेको हुनाले यसबाट समाजलाई उन्मुक्त गराऊन राज्यबाटै सशक्त कार्यत्रम अभियानको रुपमा चलाउन सक्नुपर्दछ ।

एउटा स्मरणीय कुरा छ– २०५६ सालतिरको कुरा हो स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा सप्ताह पुराणको अन्तिम दिन पण्डित रामचन्द्र कोइरालाले २७ जना दलीत युवाहरुलाई गायत्री मंत्र सुनाएपछि त्यही निहुँमा नगरवासी र गाउँहरुले पं. रामचन्द्रलाई सामाजिक बहिस्कार गरे ।

अहिलेसम्म त्यो ठाउँमा दशैं, तिहार, बिवाह, ब्रतवन्ध कति आए–गए तर रामचन्द्र पण्डितलाई कसैले बोलाएका छैनन् र उनले कुनै कार्यमा बोलाउदा पनि कोही आएका छैनन् । यस घटनालाई लिएर पूर्वमंत्री दीनबन्धु अर्यालले पनि पं. रामचन्द्र कोइरालाले समाजबाट न्याय पाउन नसकेकाले मसँग दुःख मान्नु भएको छ ।

अरुको कुरा त छाडौं कि उनका आमा बाबु उनले छोएको खादैनौं भन्छन् रे । पण्डित रामचन्द्र कोइरालाले दलितहरुलाई गायत्री मंत्र सुनाएर छुवाछुत प्रथालाई ठूलो चुनौति दिएको अवस्थामा यस्ता समाज सुधारकलाई राज्य र दलीत संस्थाहरुले पुरस्कृत गरेर एउटा नमूनाको रुपमा प्रस्तुत गर्नसक्नु पर्थ्यो । तर कतैबाट यस्ता समाज सुधारकलाई प्रोत्साहन गरिएका घटनाहरु छैनन् ।

उता भारत स्वतन्त्र भएको यतिका वर्ष भइसक्दा पनि भारतमा पनि छुवाछुत प्रथाले मानवीय भेदभावको उपहास भइरहेकाछ । बिबाहमा अछुत बेहुलाले घोडा चढेर जन्त जान ग्रामीण तहमा रोक लगाइन्छ, कुटपिट गरिन्छ । नेपालमा लगभग ४५ लाख जनसंख्या दलीतमा कामी, दमाई, सार्की, कुसुले, पोडे, चमार आदि छन् ।

यिनीहरु बीचमा पनि आपसमा छुवाछुत ब्याप्त छ । सर्वप्रथम दलित नैं आपसमा छुवाछुत मुक्त हुन सक्नुपर्दछ । कानूुन बनाएर मात्र नहुँदो रहेछ । २०६३ सालपछि दलित आयोग गठन भएको छ यसले पनि भत्ता खान बाहेक एउटा पनि माखा मार्ने काम गरेन ।

त्यस्तै नेपालमा माथिल्ला जातका युवकहरुले कतिपय ठाउँमा दलित युवतीहरु र दलित युवकहरुले ललित युवतीहरुसँग प्रेम विवाह गर्दा र प्रेम विवाह गर्न लागेका अवस्थामा घर निकाला गर्ने, हत्या गर्ने, सामाजिक आतंकको कारणले आत्महत्या गर्ने अनेकौं जघन्य अपराध तथा विकृतिले नेपाली समाजलाई अत्यन्त पिरोलेको छ ।

हालै रुकुम जिल्लामा घेटेको दुःखद घटना हाम्रो अगाडि ताजै छ । त्यसैले हाम्रो समाज छुवाछुतप्रथाबाट अत्यन्त अक्रान्त छ । अतः हाम्रो देशभित्रका अछुत, लिङ्गभेद, छुवाछुतप्रथामा सुधार ल्याएर व्यवहारिक रुपमा उतार्न राज्य, राजनीतिक दल, सामाजिक संस्थाहरु सबैपक्ष सशक्त भइयो भने नेफाल छुवाछुतबाट मुक्त हुनसक्छ ।

राज्यले नैं मनोवैज्ञानिक कार्यत्रम सञ्चालन गरेर दलितहरुसँग अन्तरजातीय विवाह गर्नेलार्ई प्रोत्साहनस्वरुप पुरस्कार वा रोजगारीको व्यवस्था गर्ने व्यवस्था मिलाएमा छुवाछुत प्रथा निराकरणको आधार बन्दै जानसक्छ ।