• मंसिर ११ २०८१, मंगलवार

कुसे औंसी : पिताको सम्मान

भाद्र २१ २०७८, सोमबार

पितृ देवो भव, अर्थात् जन्म दिने बाबु देवता सरह नै हो । पूर्वीय धर्म, दर्शनअनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ । पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्ष ।

कुसे औंसीलाई पिताको सम्मान गर्ने दिनको रुपमा पनि लिइन्छ । पितृ देवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । जन्मदिने आमा, कर्म दिने बुबा शिक्षा दिने गुरु यी सबैको स्थान उच्च छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनी शास्त्रहरुले स्पष्ट किटान गरेका छन् ।

त्यसैले पिता आफैँमा एक महत्वपूर्ण तीर्थ पनि हुन् । पुँ नामक नरकबाट उद्धार गर्ने हुनाले छोरोलाई पुत्र भनिएको हो, लालन पलन गरेर वा पिण्ड पानी दिएर या मृत्युपछि बाबा आमालाई सागरसम्म लग्दा आफ्नै काँधमा बोकेर । आमा बाबुको लासलाई बोकेर घाटसम्म लग्दा प्रत्येक पाइलामा एक अश्वमेध यज्ञ बराबरको फल पाइने कुरा शास्त्रमा वर्णित छ ।

आद्य गुरु शाकराचार्यले भन्नु भएको छ, कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति अर्थात् बंशमा सन्तान खराब आउन सक्छन् । तर कु बाबा वा कु आमा कहिल्यै हुन्नन्, कलिमा यदा कदा देखिनु अर्कै कुरा हो ।

पिताको स्थान हरेक दिन नै उच्च रहन्छ । तथापि विशेष दिनको रुपमा कुसे औंसीलाई बाबुको मुख हेर्ने भन्ने हाम्रो चलन छ । जीवित बाबुलाई उनलाई मनपरेको खाना, वस्त्र, उपहार चढाएर खुशी पारी आशीर्वाद लिने गरिन्छ । मरेका बाबुका नाममा तीर्थ गएर स्नान, दान, तर्पण, पिण्ड आदि श्राद्ध गरेमा बाबुका नाममा तीर्थ गएर, स्नान दान गरेर, तर्पण, पिण्ड आदि श्राद्ध गरेर पितृहरुबाट स्नेह, आशीर्वाद लिने चलन छ । काठमाडौंको पूर्वोत्तर गोकर्ण क्षेँत्रमा यस दिन मरेका पिताको दर्शन पाइन्छ भन्ने मान्यता छ ।

यहाँ यस दिन स्नान, दान गर्ने श्राद्ध, पिण्डदान दिने, तर्पण, सिदा दान गर्नाले पितृहरुले परम गति प्राप्त गर्छन् भनी धर्म शास्त्रहरुले किटानी गरेका छन् । यसदिन तीर्थयात्रुहरुको यहाँ ठूलै भीड लाग्ने गर्छ । यहाँ जान नसक्नेहरुले आफ्ना पिताको नाममा घरमा, घाटमा नजिकको तीर्थ क्षेत्र, गौशाला, सार्वजनिक स्थल, उद्यान आदि क्षेत्रमा बसेर श्राद्ध आदि कार्य गर्ने गराउने चलन पनि छ । तर विगत २ वर्ष दखि नै हामीलाई भीडभाड गर्न नहुने कोरोना रोगले आक्रान्त पारेको छ, जता हेर्यो उतै समस्या छ ।

उहिले बाबु छोराको कटाक्ष भएको र बाबुको मृत्युपछि शोकमा रहेको छोरो गोकर्णमा जाँदा मरेका आफ्ना बाबुलाई त्यहाँ भेटेको र बाबुलाई स्मरण गर्ने दिनको रुपमा लिइने गरिएको परम्पराले आजसम्म पनि गोकर्ण क्षेत्रले निरन्तरता पाएकै हो ।

हामीकहाँ धेरै तीर्थक्षेत्रहरु छन् तर केही समयका लागि हामीले केवल मनले मात्रै सम्झनु पर्ने अबस्था छ अहिले । गोकर्णमा विष्णुपादुका वा बाग्मती किनारामा बसी श्राद्ध पिण्डदान गर्ने गरिन्छ । गोकर्ण भन्दा अलि पर पूर्वपट्टि उत्तरगया क्षेत्र छ, बागमती उत्तरतिर बगेको त्यो क्षेत्र पिण्डदानको लागि अझ महत्वपूर्ण स्थान रहेको छ ।

भनिन्छ गोकर्ण श्राद्धपछि मात्रै अन्य तीर्थ श्राद्धका बाटाहरु खुल्ने गर्छन् । त्यसो त हाम्रा धेरै अन्य क्षेत्रहरु पनि छन् । रसुवाको गोसाईंकुण्ड क्षेत्र, रसुवाकै बेत्रावती, नुवाकोटको त्रिशूली, सुनसरीको विष्णुपादुका वाराहक्षेत्र, पिण्डेश्वर आदि, नवलपरासीको क्रिवेणीधाम, चितवनको देवघाट, मुस्ताङको कागबेनी, मुत्तिक्षेत्र आदि, गुल्मीको रुरु रेसुङ्गा र काठमाडौंको आर्यघाट, टेकु एवं थुप्रै यस्ता क्षेत्रहरु छन् जहाँसम्म पुग्नाले मात्रै पनि देवता, पितृहरु प्रसन्न रहन्छन् ।

तर मानसिक यात्रा गर्नु पर्ने अबस्था छ अहिले, जसले आध्यात्मिक शान्ति प्राप्त हुन्छ । नविन ऊर्जा प्राप्त हुन्छ र यस्ता कार्यहरुबाट पितृ ऋणहरु चुक्त हुँदै जान्छन् पनि । मरेका बाबुलाई काँधमा राखेर घाट लग्दा पाइला पाइलामा एक एक तीर्थको उपासना गरेको फल मिल्ने गर्छ । बाबुको काजकिरिया गर्दा वा जीवित बाबुको लालनपालन गर्दा व्यक्तिलाई अदम्य साहस प्राप्त हुने गर्छ ।
उसले जीवनमा ठूलै कष्टबाट पनि सजिलै अवतरण गर्न सक्छ भनी शास्त्रहरुले पुष्टि गरेका छन् । शास्त्रीय कुरालाई आधार मान्दै जीवनका दिनचर्याहरु पूरा गर्दै जाँदा धर्म संस्कृति पनि वच्छ र कूल परम्परा पनि जीवित हुन्छ, मौलिक धर्मको सम्मान पनि हुन्छ ।

धर्म, संस्कृति, संस्कार विनाको समाज जरा विनाको रुखझैँ हुन्छ, हावा हुण्डरी आउँदा त्यस रुखलाई ढालिदिन सक्छ भनेझैँ । संस्कृति रुपी मूल जरो भएको विशाल रुखलाई भने सानातिना हावाहुण्डरीले केही गर्न सक्दैनन् । त्यसैले संस्कृति राष्ट्टको प्राण नै हो भनिएको छ ।

पितृ औंसीको अर्को महत्वपूर्ण पक्ष हो कुश ग्रहण ! कुसको स्पर्श, दर्शन आदि । यसैदिन घरघरमा नयाँ कुश राख्नाले पितृहरु प्रसन्न रहन्छन् । कुश एउटा असल वनस्पति हो यसका वरिपरि ब्रह्मा, विष्णु र महेश तीन देवताले बास गर्ने गर्छन् । कुश अति नै चोखो वनस्पति हो ।

यो तुलसीझैँ महत्वपूर्ण छ । कुनै पनि कार्यमा कुश आवश्यकता पर्छ । जन्मदेखि मृत्यु सबै संस्कारमा कुश नभई हुँदैन । गाई, गीता, गायत्रीझैँ कुशको उच्च स्थान रहेको छ । तिल कुश र जौ कुनै पनि कार्य गर्नु अघि प्रतिज्ञा संकल्पलाई पनि आवश्यक हुन्छ ।

पितृकार्यमा कुश अनिवार्य नै छ । असल गुरु पुरोहितहरुबाट कुश लिने कार्य यसै दिन गरिन्छ । भाद्रकृष्ण औंसीलाई कुशच्छेदनको औंसी भनिए पनि त्रयोदशीदेखि नै कुशच्छेदन कार्य गरिन चलन देखिन्छ र एकाविहानैदेखि ब्राह्मणहरुले यजमानहरुको घरघरमा कुस पुर्‍याउने काम गर्ने गर्छन् ।
कुश ग्रहण गर्ने मन्त्र यस प्रकार छ । विरिन्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः । नुद सर्वाणि पापानि दर्भ स्वस्ति करो भव ।।

अर्थात् ब्रह्माजीसंगै उत्पन्न भएको वनस्पति कुशले मेरा सबै पाप पखालिदेऊ र सबैको कल्याण गर भन्दै पूर्वोत्तर फर्केर कुश ग्रहण गर्नु पर्छ

विवाहित छोरीबेटीहरुका लागि कुशे औंसी झन् बढी महत्वपूर्णको दिन हुन जान्छ । आँसु बगाउँदै बाबुले कन्यादान दिई बिबाहपछि छोरीलाई अर्काको घर पठाउने गर्छन् र छोरीहरुले तिनै आँसुलाई चुकाउँदै स्नेहको उपहार लिएर कुशे औँसीमा माइती आउने गर्छन् ।

हिजो आजको संस्कार संस्कृति केही फरक हुने गरेको देखिन्छ । अन्यथा यसदिन बाबुले आफ्ना सन्ततिबाट धेरै प्यारको आकांक्षा गरेको हुन्छ । टाढा रहेका छोरा छोरीहरु विदेशिएका सन्ततिहरुले अघिपछि स्नेह, प्यार दिन नसके पनि पितृ सम्मानगर्नेर् दिन कुशे औंसीका दिन वर्षभरिको मान सम्मान दिन सकून, यही प्रेरणा रहोस् सबैलाई ।

के छोरा, के छोरी सबै बराबरी भन्ने मान्यता अनुरुप र संतति स्नेहको सदाबहार, बाबुप्रति श्रद्धा अर्पण गर्ने चाड कुशेऔंसी पर्वले सबैको, सबैप्रतिको सम्मान रहोस् ।