• मंसिर १२ २०८१, बुधबार

अमेरिकी दुतावास अगाडि एमसीसी विरुद्ध प्रदर्शन गर्ने ६ जना गिरफ्तार

भाद्र २१ २०७८, सोमबार

काठमाडौँ । अमेरिकी सहयोग परियोजना भनिएको एमसीसी खारेज गर्न माग गर्दै काठमाडौँको अमेरिकी राजदुतावास अगाडी विरोध गर्दै गरेका ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा प्रदर्शन गर्न लागेका नेकफा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल त्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तार हुनेहरुमा सो संगठनका महासचिव पेशल दाहाल, सचिव महेश श्रेष्ठ, केन्द्रीय सदस्य मिनप्रसाद गिरी लगायतका विद्यार्थी नेताहरु रहेका छन् । प्रदर्शन गर्दा उनीहरुले नेपालमा एमसीसी नचाहिने भनेर विभिन्न प्लेकार्ड बोकेर नारा जुलुशसहित प्रदर्शन गरेका थिए ।

यही साता अमेरिकी सहयोग नियोग भनिएको एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमार काठमाडौँ आउने तय भएको बताइएको छ । फातेमाका साथमा सो परियोजनाका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउन लागेको बताइएको छ ।

एमसीसीका पदाधिकारी नेपाल आउने हल्लासँगै यसको विरोधमा विरोध गर्नेहरुले सक्रियता बढाएका छन् भने सरकारले पनि उच्च सतर्कता अपनाएको बुझिएको छ ।