काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसीका कारण देशमा जटिल परिस्थिति निम्तिएको बताएका छन् । ‘मुलुकमा अर्को जटिल परिस्थिति आयो’ भन्दै महराले संसदमा विचाराधीन एमसीसीको एजेण्डातर्फ इंगित गरेका हुन् ।
संसद आह्वान भई भदौ २३ गते एमसीसी पारित गरिने तयारी भैरहेका बेला महराले सांकेतिक रुपमा एमसीसीले निम्त्याएको समस्याका कारण देश जटिल मोडमा पुगेको बताएका छन् । राप्ती प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेनट डा. विनोद सिंहमाथि भएको अभद्र व्यवहार गर्ने घटनाका दोषीमाथि कारवाहीको माग गर्दै आयोजित कार्यक्रममा महराले एमसीसीबारे सांकेतिक अभिव्यक्ति दिएका थिए ।
महरा यसअघि सभामुखबाट हटाइँदा एमसीसी संसदको विजनेसमा नपरेकै कारण हटाइएको चर्चा भएको थियो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महराले संसदमा एमसीसी टेवुल नगरेकै कारण भिन्न बाहनामा हटाइएको एक अन्तर्वार्तामार्फत् सार्वजनिक गरेका थिए ।
अहिले एमसीसी संसदबाट पारित गरिदै छ । महराले यसलाई देशमा निम्तदै गरेको गम्भीर परिस्थितिका रुपमा लिएका छन् । जनसाधरणको चासो छ, महरा एमसीसी पारित गरिदा संसदमा उपस्थित होलान् वा नहोलान् ?