काठमाडौँ। । ढिला गरी नारायणहिटी दरबार संग्रहालयमा एक सुनौलो बग्गी प्रदर्शनमा राखिएको छ । यो निकै पुरानो मोडलको तर धेरै आकर्षक छ । तात्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने यो बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो ।
दरवारमा रहेका सामग्रीहरु संग्रहालयमा ल्याइने क्रममा बग्गी पनि ल्याइएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उक्त बग्गी सार्वजनिक गरेपछि अब यो सर्वसाधरणका लागि पनि खुल्ला गरिएको छ ।
पहिले दरवारमा बग्गी थिएन । बग्गीको चलन राणाकालमा बाहेक नेपालमा उति साह्रो भएको इतिहास पनि पाइँदैन । यो सुनौलो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा नेपालको राजपरिवारलाई दिएकी थिइन् ।
राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलो पटक प्रयोग गरिएको उक्त बग्गी उति चर्चामा पनि थिएन । यस्तै खालको बग्गी बेलायतको बकिंघम दरबारमा विशेष समारोहमा मात्र प्रयोगमा ल्याइने गरिन्छ ।