• मंसिर ११ २०८१, मंगलवार

दोस्रो मैत्रीपूर्ण खेल : निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पराजित

भाद्र २० २०७८, आईतवार

काठमाडौं । नेपाल र भारतबीच भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

दशरथ रंगशालामा आइतबार अपराह्न भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

भारतको जितका लागि कप्तान सुनिल क्षेत्री र फारुख चौधरीले गोल गरेका हुन् । नेपालमा तेज तामाङले जवाफी एक गोल फर्काए ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपाली खेलाडीहरुले राम्रा अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन् । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा भारत लयमा फर्किएको थियो ।

खेलको ६१ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाएका थिए । त्यसैगरी खेलको ८० औँ मिनेट भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८६ औँ मिनेटमा नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । योसँगै नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले घरेलु मैदानमा भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको हो । गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।