• मंसिर १२ २०८१, बुधबार

कोकिन ओसारपसार रोक्न प्रहरी सक्रियता

भाद्र २० २०७८, आईतवार

काठमाडौं। साउनको अन्तिम सातादेखि भदौ महिनाका अघिल्ला दुई साता नेपालमा कोकिन भित्रिएको समाचारहरु बढी आए । प्रहरीले ओसार पसारमा संलग्न विदेशी तथा नेपालीहरु गिरफ्तार गरी कस्टडीमा लिन पनि सफल भए ।

नेपाल कोकिन ओसारपसारको ट्रान्जिट प्वाइन्ट हो वा होइन भन्ने त पहिलेदेखि नै बहस भैरहेको थियो । भारत आएर नेपालमा कोकिन भित्रन्छ वा नेपालमा आएर भारत भित्र्याइन्छ भन्नेमा आशंका रहेकै थियो ।

पहिले भारतमा कोकिन ल्याएर नेपाल भित्र्याइएको प्रमाण प्रहरीकहाँ थियो । तर अहिले नेपालमा कोकिन भित्र्याएर भारत लैजाने गरेको खुल्न आएपछि प्रहरी प्रशासनबाट त्यसको खोज र अनुसन्धानमा निकै कडाइ गरिएको थियो ।

नेपालमा कोकिन भित्रने मात्र होइन, यो लागु पदार्थको दूव्र्यसनी संख्यामा पनि बृद्धि भैरहेको छ । काठमाडौं जस्ता सहरी इलाकामा त यसका दुव्र्यसनी सडकमा पनि भेटिने गरेका छन् । यो चिन्ताजनक विषय पनि हो ।

पछिल्लो समयमा लागु पदार्थ सेवनले आक्रान्त हुँदै गैरहेको नेपाली समाजमा कोकिनको खपत बढ्न थालेको कुरा प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी अधिकारीहरु त नेपाली बजारमै कोकिनको खपत बढिरहेकोमा चिन्ता व्यक्त गरिरहेका छन् ।

कोकिन नेपालमा उत्पादन हुँदैन । यो बोलिभिया, पेरुजस्ता दक्षिण अमेरिकी देशहरुबाट नेपाल भित्रने गरेको खुलासा भएको छ । पछिल्लो समयमा त यो नेपालमा भित्र्याएर भारतजस्ता छिमेकी देशहरुमा पठाउने गरेको पनि पाइएको छ ।

कोकिन तस्करीका लागि भूमिगत अन्तरदेशीय सञ्जाल निर्माण गरिएको अनुसन्धानबाट खुलेको छ । कोकिन तस्कर गरोहले ब्राजिलको साउपाउलो एयरपोर्ट हुँदै भारत, युएई आदिमा ठूलो मात्रामा पठाउने गरेको पाइन्छ ।

तर नेपाल पनि कोकिन तस्करी हुने रुट बन्दै गरेको खबरले सर्वसाधरण नेपालीलाई सतर्क बनाएको छ । संसारभर भूमिगत तवरले अवैधानिक व्यापार गरिने लागूऔषधको बजार मूल्यमा कोकिन सबैभन्दा महङ्गो कोटीमा पर्दछ ।

कोकिन ओसारपसारमा संलग्न विदेशी तथा नेपाली नागरिक गिरफ्तार भएसँगै नेपाल लागू पदार्थ ओसार पसारको ट्रान्जिट बन्दै त छैन भन्ने बहसले ठाउँ पाउन थालेको छ । नेपालमार्फत् भारतमा कोकिनजस्ता लागूपदार्थ पुर्याउन थालिएको खुलेपछि प्रहरीले अनुसन्धानका नयाँ नयाँ तरिका खोज्न थालेको छ ।

प्रहरीको अनुसन्धानमा विदेशबाट आयात गरिने यस्ता लागू पदार्थ तारे होटल तथा रेस्टुरेन्टहरुमा प्रयोग हुँदै आएका छन् । विदेशी पर्यटकको लत तथा आनीबानीका आधारमा ठूला होटल तथा रेष्टुरेन्टहरुमा कोकिनजस्ता लागू पदार्थको खपत हुने गरे पनि नेपाली जनजीवनमा यसले दूरगामी नकारात्मक असर पारिरहेको छ ।

केही उच्च घरानाका मानिस यसको लतमा परेको देखिन्छ । हालसम्मको अनुसन्धानमा नेपालीहरुले कोकिन ओसार पसारलाई पेसाका रुपमा अबलम्बन गरेको नपाइए पनि उक्त कार्यमा सहयोगीको भूमिका निर्वाह गरेको भने पाइएको छ ।

यसले नेपाललाई लागू पदार्थ ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनाउँदै लान थालेको देखिन्छ । पछिल्लो पटक नेपाल प्रहरीले ९ करोड मूल्य बराबरको २ किलो ९ सय ६६ ग्राम कोकिन कब्जामा लिंदा एक नेपालीसहित तीनजना विदेशी नागरिकलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याएको छ ।