धनगढी। सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ ।
आइतबार एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा सनाखत गरेसँगै सांसदको संख्या १३ पुगेपछि सुदूरपश्चिममा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको हो ।
यसअघि एमालेका १० प्रदेश सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।
आइतवार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
२०७४ सालको निर्वाचनमा उनीहरु नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका थिए।
तर एमाले विभाजनसँगै उनीहरु नवगठित नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेका हुन्।
यससँगै सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका १२ सांसद मात्रै कायम भएका छन्। एकीकृत समाजवादीले एमालेका १३ सांसदलाई आफ्नो पक्षमा तानेर ठूलो दल बनेको हो।
यहाँ माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी नेपालका दुईजना सांसद रहेका छन्।