• फाल्गुन २८ २०८२, बिहीबार

एमसीसी राष्ट्रघाती सम्झौता हो, मलाई गिरफ्तार गर्नुहोस् : भीम रावल

भाद्र १९ २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको बताएका छन् ।

शनिबार मीनभवनस्थित कार्की ब्यैंक्येटमा आयोजित कार्यक्रममा उनले एमसीसी राष्ट्रघाती सम्झौता भएको र यदि त्यसो नभएको अवस्थामा आफूलाई गिरफ्तार गर्न भनेका छन् ।

गउपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनी सूचना गरेको भन्ने आरोप लगाउँदै आफूले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिए । ‘एमसीसी राष्ट्रघाती सम्झौता हो । मैले भने मलाई गिरफ्तार गर्नुस्,’ उनले कार्यक्रममा भने, ‘यो लोकतन्त्र हो कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नु भयो । मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन, ५० दिन भयो अझैँ मन्त्रिपरिषद् पूरा भएको छैन । लाज पनि मान्नुपर्ने ।’

एमसीसी नेपालमा आए देश उस्कै अधीनमा हुने र देश भारतसँग सन् १९५० मा गरिएको सन्धिजस्तै कब्जा हुने पनि उनले बताएका छन् । भारतसँग सन् १९५० मा सन्धि गरेपछि भारतले नेपालको भूमि कब्जा गरेको र जुन अहिलेसम्म फिर्ता नभएको भन्दै एमसीसी पनि त्यस्तै रहेको उनको भनाइ छ ।

‘मिलिनियम च्यालेञ्ज कर्पोरेसनको स्वामित्व हुने, उसको अधीनमा हुने भन्ने छ। भोलि नेपाल सरकारले त्यो प्रसारण लाइनमा मर्मत गर्नुपर्‍यो भने गर्न सक्दैन। एमसीसीको अनुमति लिनुपर्छ। अनि नेपालको भूमि विदेशी कब्जामा गएन ? सन् १९५० को सन्धि नेपाली भूमिमा भारतीय कब्जा हो । जुन अहिले नेपालको अधीनमा छैन। एमसीसी पनि त्यस्तै हो।’